images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चिया बेचेरै मासिक एक लाख कमाउँछन्...

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • सर्लाही। सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो । 

    images
    images

    सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ । 

    “दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भने– “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।” विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउन सुरु गरेका थिए । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

    images
    images

    “घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उनले भने, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताए । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उनले भने, “होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” 

    यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उनले बताए । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाए । त्यसबाट उनले दैनिक रु छ हजारसम्मको कारोबार गर्छन् ।चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताए। “प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ”, उनले भने, “एक कप चिया रु २० मा बेच्छु ।” उहाँका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाए । 

    “त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उनले सुनाए, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।” महिनामा  रु एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै  सहयोगमा पाँच महिना अघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन्।

    साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उनी बताउँछन् । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन । उनी पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ । सिंगबहादुर थापा/रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend