images

२०८३ आश्विन २१ गते

images
images
images

सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त छन् । ‘पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन’, अधिकारीले भने, ‘यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।’

    images
    images

    चिया रोपण, मलजल, सिँचाइ र छाँटकाँटमा ध्यान पुर्याउन सक्दा उत्पादन वृद्धि हुने किसान बताउँछन् । ‘चियाको गुणस्तर सुधार गर्न रोपणबाट टिपानसम्म नै किसानले ध्यान दिनुपर्छ ।’ सूर्योदय–७ गोगनेका गणेश भट्टराईले भने, ‘कटिङ बिग्रियो भने चियाको उत्पादन घट्छ । गुणस्तर सुधार गर्न पनि कटिङमा सचेत हुनुपर्छ।’ चिया कटिङ प्राविधिक ज्ञान र सीप भएकाले मात्र गर्नुपर्छ । सीप भएकालाई रोजगारीको राम्रो अवसर पनि छ ।

    गत वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा इलामका किसानले चिया कटाइसम्बन्धी तालिम प्राप्त गरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । उनका अनसार उक्त तालिमले केही दक्ष जनशक्ति तयार भएको छ ।चियाको काँटछाँट र टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या भएपछि सूर्योदय नगरपालिकाले यहाँ प्राङ्गारिक चिया उत्पादनको अभियान नै चलाइरहेको छ । छ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयले उत्पादन गुणस्तरीय बनाएर विश्वबजारमा निर्यात वृद्धि गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम गरिरहेको नगर प्रमुख रणबहादुर राईले बताए ।

    images
    images

    ‘पहिले हाम्रो चिया भारतले किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसका अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ’, नगर प्रमुख राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनु पर्छ ।’

    चियाको टिपाइ सुधार गर्न नगरपालिकाले यस वर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरेको छ । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सयवटा चिया टिप्ने हातेमेसिन वितरण गरिएको छ’, उनले भने, ‘चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एण्ड रिसर्चिङ सेन्टर’ पनि भर्खरै सञ्चालनमा आएको छ ।’

    ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ नारा नै रहेको छ । विसं २०७५ साउन १ गते नै निषेधित विषादीमुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिकउन्मुख अभियान चलाइरहेका छौँ’, उनले भने ।

    नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । ‘उत्पादन नै विषादीयुक्त हुँदा चियाखेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नु पर्छ’, नगर प्रमुख राईले भने ।अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रू एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ’, किसान छविलाल पौडेलले भने ।

    नेपाली चियाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ प्रवर्द्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ ।

    सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान छन् । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालक बताउँछन् ।

    चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्म रू दुई अर्ब ७० करोड ३९ लाख ३६ हजारको चिया निर्यात भएको झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क छ । यो समयमा एक करोड २७ हजार २१९ किलो चिया निर्यात भएको छ। अघिल्लो आव २०८०/८१ को सोही समय अर्थात् साउनदेखि मङ्सिरसम्म रू एक अर्ब ६४ करोड ७५ लाख ७३ हजारको मात्र चिया निर्यात भएको थियो । सो समयमा ६९ लाख ४० हजार छ सय ६० किलो चिया निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend