images

२०८३ आश्विन १७ गते

images
images
images

बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो

बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • तनहुँ । पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वेदशी तथा विदेशी पर्यटकको भिड बढेको हो।गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बन्दीपुरमा पर्यटकले भरिएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

    images
    images

    नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरका होटल तथा होमस्टे भरिभराउ भएकोले व्यवसायी उत्साहित भएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । प्रधानले भन्नुभयो, "नयाँ वर्षको पहिलो दिनमै पर्यटकको चाप ह्वात्तै बढेपछि यहाँका होटल, व्यवसायी सुखी भएका छन् ।" 

    बन्दीपुरका होटल व्यवसायी र बन्दीपुर गाउँपालिकाको पहलमा सन् २०२५ लाई 'बन्दीपुर भ्रमण वर्ष' को रुपमा मनाउने तयारीसँगै आन्तरिक तथा वाह्य पर्यटकको चाप बढेपछि आफूहरुलाई हौसला मिलेको बन्दीपुर होटल सङ्घका पूर्व अध्यक्ष तथा बन्दीपुर भ्रमण वर्ष मूल समारोह संयोजक बैस गुरुङले जानकारी दिनुभयो । 

    images
    images

    अङ्ग्रेजी नयाँ वर्ष मनाउने रात बन्दीपुरमा आयोजित कार्यक्रममा करिव १ हजारभन्दा धेरै पर्यटक बढेपछि आफूहरु उत्साहित भएको उहाँले बताउनुभयो । नयाँ वर्ष मनाउने रात्री कार्यक्रममा चितवन, पोखरा, गोरखा, लमजुङ र काठमाडौंदेखिका आन्तरिक पर्यटक र चीन, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकबाट बाह्य पर्यटकको आगमन भएको समितिले जनाएको छ ।

    अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई आफूहरुले भ्रमण वर्षको रुपमा मनाउन लागेकोले होटल व्यवसायी र होमस्टेहरुमा विशेष छुटको कार्यक्रम लागु गरिने समेत अध्यक्ष प्रधानको भनाइ छ । यहाँ आउने पर्यटकले दिनको खाना र वासको लागि प्रतिव्यक्ति १ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्मको प्याकेजका कार्यक्रम रहेको बताउनुभयो ।"यस पटक बन्दीपुर घुम्ने पर्यटकको चाप ह्वात्तै बढ्दा हाम्रो होमस्टेमा पनि पाहुनाको चाप बढेको छ", पूर्व अध्यक्ष बानियाँले भन्नुभयो, "पोहोर सुनसान रहेको होमस्टेमा यस पटक एकै रात ४० जनासम्मलाई व्यवस्थापन गरेको छु । यस वर्षदेखि होमस्टेले गति लिने विश्वास गरेका छौं ।" यहाँ साना ठुला होटल र लज गरी करिब २ सय छन् भने करिब ३ सय जनालाई व्यवस्थापन गर्न सकिन्छ । 

    काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बिचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । केन्द्रको रुपमा विकास गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बन्दीपुर भ्रमण वर्ष–२०२५ बुधबारबाट सुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ। पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिमशृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । 

    प्रमुख आर्कषण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्कलगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् । बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । 

    नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend