नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्ज भित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए।
निकुञ्ज भित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि रु दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ।
सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुर स्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताए।
सफारी मार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघ सहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेल लागायतका वन्यजन्तु अवलोकन गर्न सक्ने छन्। वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधार समेत निर्माण गरिएको उनको भनाइ छ।
उनले बाघको बासस्थान पत्ता लगाउन क्यामरा मार्फत सर्वेक्षण भइरहेको जानकारी दिए। उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ।
विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।




.gif)





