काठमाडौं, २८ असोज। यस वर्षको मनसुन बुधबारदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो बाहिरिएको हो। मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा हुने सम्भावना भने कायमै रहेको विभागले जनाएको छ।
बूढीगण्डकी बाढीपीडित राहतबाट वञ्चित
गोरखा । बूढीगण्डकीमा आएको बाढी र पहिरोबाट प्रभावित चुमनुब्री तथा धार्चेका वास्तविक पीडित राहतबाट वञ्चित भएका छन्। उङ्गिलुङमा बाढीमा परी बेपत्ता भएका पाँच जनाका परिवार र १३ घण्टापछि हेलिकोप्टरबाट उद्धार गरिएका तीन जनाले पर्याप्त राहत पाएका छैनन्।
बाढीपछि नेपाली सेना तथा निजी हेलिकोप्टरबाट ५०८ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार तथा प्रतिकार्यका लागि २०८ हवाई उडान भएका छन्।
यता, बाढीले घरबास बगाएका परिवार खाद्यान्न र आश्रयको अभावमा छन्। स्थानीयले तत्काल राहत तथा खाद्यान्न उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।




.gif)





