images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • पुस अन्तिम साता पाइपलाइनबाट डिजेल, पेट्रोल...

पुस अन्तिम साता पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेल ल्याउने

पुस अन्तिम साता पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेल ल्याउने

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम साता देखि भारतको मोतिहारी देखि पाइपलाइनबाट डिजेल सँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ साल देखि पाइप लाइन मार्फत मोतिहारी देखि अमलेखगन्ज सम्म डिजेल आयात गरिरहेको छ ।

    images
    images

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’ बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए ।

    निगमले परियोजनाको दोस्रो चरण अन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ।

    images
    images

    प्रमुख आचार्यले भने, “पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौं, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ। हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ।” निगमले पाइलपाइन बाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो। अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ। पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।

    “स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौं यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ। यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ”, कार्यालय प्रमुख आचार्यले भने,“ट्रक ट्याङ्करका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ। पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रक ट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषण लगायत समस्याको अन्त्य हुनेछ।”

    पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन। “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने, “डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ।”

    यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ। यस मध्ये भारततर्फ ३३ किमी र नेपाल तर्फ ३६ दशमलव दुई किमी रहेको छ। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्ज बाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुर स्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगन्जबाट स्थानीय स्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्री वितरण हुँदै आएको छ ।

    करिब पाँच दशक देखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन ’मा जाँदैछ। पाइपलाइन परियोजनाको दोस्रो चरण अन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन्। पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    ट्रक ट्याङ्करमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशाला लगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । “२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ”, उनले भने, “भण्डारण ट्याङ्क र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ।”

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो। करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो। यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ । अमलेखगन्ज स्थित डिपोमा हाल १५ हजार एक सय १० किलोलिटर पेट्रोल, २४ हजार आठ सय १० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ ।

    सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ। सोही योजना अनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ। पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्ज देखि चितवनको लोथर सम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।

    लोथर सम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ। “परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ”, प्रमुख आचार्यले भने, “सम्भवतः अर्को महिना देखि लोथर सम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend