काठमाडौंः गत असोज १० पछिको बाढी, पहिरो र डुबानका कारण पुगेको क्षतिमा हालसम्म बिमा कम्पनीहरुमा साढे १२ अर्ब रुपैयाँ बढी माग दाबी परेको छ । नेपाल बिमा प्राधिकरणको मंसिर २६ गते सम्मको तथ्यांक अनुसार बिमा कम्पनीहरुमा कुल १२ अर्ब ३६ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबरको माग दाबी परेको हो । ३ हजार ५ सय ४९ संख्याबाट सो मागदाबी गरिएको हो । मंसिर २६ गते सम्म १ अर्ब १९ करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरको मात्रै बिमा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यो रकम अग्रीम दाबी भुक्तानी सहितको हो ।
गत बुधबार सम्म १ हजार ५१४ वटा दाबीको मात्र भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि मंसिर २६ गते सम्मको तथ्यांक हो । प्राधिकरणका अनुसार १४ निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनी सहित कूल १८ वटा बिमा कम्पनीमा साढे १२ अर्ब ३६ करोडको माग दावी पर्दा जम्मा १ अर्ब १९ करोड मात्रै भुक्तानी गरेका छन् । यस अवधिमा १६ वटा बिमा कम्पनीले सो रकम दावी भुक्तानी गरेका हुन ।
प्राधिकरणका अनुसार दावी भुक्तानी तिर्नेमा सबैभन्दा अगाडि शिखर इन्सुरेन्स रहेको छ । जसले ३० करोड ७८ लाख २८ हजार दावी भुक्तानी गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले २५ करोड ५२ लाख रुपैयाँ दावी तिरेको छ । सलिकोले १४ करोड ५४ लाख रुपैयाँ दावी भुक्तानी गर्दा हिमालयन एभरेष्ट इन्सुरेन्सले १० करोड ९३ लाख रुपैयाँ तिरेको छ ।
यसैगरी, नेको इन्सुरेन्सले ८ करोड १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले ८ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्सुरेन्सले २ करोड ५४ लाख रुपैयाँ, सानिमा जिआईसीले ९ करोड ५१ लाख, नेपाल इन्सुरेन्सले १ करोड ४८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
त्यस्तै, प्रभु इन्सुरेन्सले १ करोड २० लाख रुपैयाँ, युनाईटेड अजोड इन्सुरेन्सले १ करोड २८ लाख रुपैयाँ, दि ओरियन्टल इन्सुरेन्सले ४ करोड ४९ लाख रुपैयाँ, नेशनल इन्सुरेन्सले ४३ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेकोे छ । यस अवधिमा राष्ट्रिय बिमा कम्पनी र टष्ट्र माइक्रको इन्सुरेन्सले कुनै पनि भुक्तानि गरेका छैनन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्सुरेन्समा २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ बढीको माग दाबी परेको छ । ओरिएन्टल इन्सुरेन्समा १ अर्ब ५२ करोड ९६ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । त्यस्तै, शिखर इन्सुरेन्समा १ अर्ब १५ करोड रुपैयाँ बराबरको माग दाबी परेको छ । हिमालयन एभरेष्टमा १ अर्ब १ करोड रुपैयाँ, सगरमाथा लुम्बिनीमा १ अर्ब ३४ करोड रुपैयाँ बराबरको माग दाबी परेको छ ।





.gif)





