images

२०८३ आश्विन १९ गते

images
images
images

तनहुँमा सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

तनहुँमा सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । 'बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु', तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्छन्,'यहाँ बस्ने अवस्था छैन।' उनी म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुख्र्यौली जमिन सफाइ गरी सुन्तलाखेतीमा व्यस्त छन्।

    images
    images

    पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झरेका मोहन अहिले बाँझो जमिनमा सुन्तलाखेती गर्दै छन्। उनी भन्छन्,'अन्य खेती गर्न समस्या भए पनि सुन्तलाखेतीलाई कम पानीले पुग्ने भएकाले यसतर्फ आकर्षित भएको हुँ।'

    बाँझिएको पुख्र्यौली जमिनको उपयोग गर्दै उनी अहिले नौ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरिरहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा उक्त बाँझिएको जमिन सफा गरी दुई सय ५० बिरुवा रोपेर उनी सुन्तलाखेतीमा लागेका छन्। चालु वर्षमा भने उनले ४४ सुन्तलाका बिरुवा थपेका छन्।

    images
    images

    उनी भन्छन्,'कोभिड १९ को बन्दाबन्दीपछि गाउँमै गरिएको खेतीले सुरक्षित बनाउँछ भन्ने महसुस भएर सुन्तलाखेतीतर्फ लागेको हुँ, आफ्नो जमिन खेर फालेर अन्य पेसामा लाग्नुभन्दा आफ्नैमा नाफाघाटा बेहोरौँला भनेर जङ्गल बनेको बाँझो जमिनमा सुन्तला लगाएको छु, केही वर्षमा उत्पादन लिनसक्ने देखिएको छ।' सिँचाइ अभाव भएकाले कृषि ज्ञान केन्द्र तनहुँबाट हिलट्याङ्क अनुदानमा पाएपछि सहज भएको उनी बताउँछन्।

    उनी जस्तै व्यास नगरपालिका–१ हाई स्कुलटार निवासी नारायण रानाभाट पनि बाँझो जमिनको उपयोग गर्दै सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्। बाँझिएर जङ्गल बनेको पुख्र्यौली जग्गा फँडानी गरी सुन्तलाखेती गर्दै आएका छन्। बिहान सुन्तलाको रेखदेख गर्न बगैँचामा पुग्ने र साँझ घर फर्किने गरेको उनी बताउँछन्।

    कृषि ज्ञान केन्द्रको सुन्तलाखेती विस्तार कार्यक्रमले सुन्तलाखेतीतर्फ किसान आकर्षित भएका छन्। झाडी बनेको जमिनको उपयोगलाई प्राथमिकता दिएर ल्याइएको सुन्तलाखेती विस्तार कार्यक्रमले यसतर्फ सर्वसाधारण आकर्षित भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउँछन्। उनका अनुसार धेरै ठाउँमा बाँझो जमिनमा सुन्तलाखेती विस्तार भइरहेको छ।  

    उनी भन्छन्,'झाडी सफाइ गरी अहिले किसानले सुन्तलाखेतीको स्याहारसुसारले उत्पादन बढ्दो रहेको छ, यसले कृषिमा युवाको आकर्षण बढेको तथ्याङ्कले देखाएको छ।' सुन्तला बगैँचाबाट नै खरिदबिक्री हुने हुँदा पनि किसान यस खेतीतर्फ आकर्षित भएको उनी बताउँछन्। यहाँको सुन्तला विशेषगरी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री वितरण हुने गरेको छ।

    बाँझो जमिनमा गत आर्थिक वर्ष पाँच हजार ६ सय बिरुवा रोपण गर्न अनुदान दिइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले बताए। उनका अनुसार जिल्लाका विभिन्न स्थानका दुई सय ५५ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ। तीमध्ये १० रोपनी क्षेत्रफलको सुन्तलाका बिरुवा मरेको उनी बताउँछन्।उनले भने,'राम्रो बच्चा बनाउनका लागि सानो गरिएको स्याहारसुसारले भविष्यमा असल बनाउँछ भनिन्छ नि, त्यसैगरी सुन्तलाका साना बिरुवालाई पनि सरसफाइ तथा हेरचाह राम्रो भएमा उत्पादन राम्रो हुन्छ।'

    जिल्लामा विशेषगरी बिज बिरुवा नै रोपण गर्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ। 'हाइब्रिडको प्राक्टिस भएको पाएका छैनौँ', सूचना अधिकारी परियारले भने। जिल्लाकै देवघाट गाउँपालिका–२ नरमस्थित नर्सरीमा उत्पादित सुन्तलाका बिज बिरुवा अनुदानमा अन्य क्षेत्रका किसानलाई वितरण गर्ने गरिएको उनले बताए।बसाइँसराइ गरेका थानसिं गाउँका स्थानीय गाउँमा फर्केर झाडी बनेको बाँझो जमिनमा सुन्तलाखेती गर्ने क्रम बढ्दै गएको छ। म्याग्दे–२ सुन्तलाखेतीको प्रख्यात ठाउँ हो। यसका साथै १ र ३ नम्बर वडाका केही स्थानमा सुन्तलाखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। पकेट क्षेत्रको क्षेत्रफल बढ्ने क्रममा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ।

    आर्थिक वर्ष २०७९/८० मा जिल्लाका एक हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। आव २०७९/८० मा ११ हजार चार सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन गरेको केन्द्रको तथ्याङ्मा उल्लेख छ। 

    चालु आर्थिक वर्षमा केही क्षेत्रफल वृद्धि हुनेगरी विस्तार भइरहेको केन्द्रले जनाएको छ। यस तथ्याङ्कका आधारमा पनि सुन्तलाखेतीको क्षेत्रफल वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षमा सुन्तलाखेतीकै लागि बजेट छुट्याएर आएकाले अझ सहज भएको र यसको क्षेत्रफलसमेत वृद्धि हुने देखिएको केन्द्रले जनाएको छ। राष्ट्रिय फलका रुपमा सूचीकृत सुन्तलाखेतीमा सरसफाइ र स्याहार पुगेमा उत्कृष्ट सुन्तला यहाँ उत्पादन हुने केन्द्रले जनाएको छ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend