images

२०८३ आश्विन २२ गते

images
images
images

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बरहथवा (सर्लाही) । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको हो ।

    images
    images

    लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको सर्लाहीको धन्कौल चिनी उद्योग अहिले उखु तान्ने काममा व्यस्त देखिन्छ । विसं २०७४ अघिको उखुको भुक्तानी किसानलाई नदिएपछि उद्योग सञ्चालन गर्न रोक लगाइएको थियो । विसं २०७९ मा नयाँ उद्योगीको पहलपछि केही किसानले पुरानो भुक्तानी पाएपछि उद्योग सञ्चालन भएको हो । विसं २०७८ देखि ‘क्रसिङ’ याममा उद्योगले पुनःक्रसिङ गर्न सुरु गरेको थियो ।

    क्रसिङ यामको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । यसवर्ष भने मङ्सिरको पहिलो सातादेखि क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरिरहेको छ ।लामो समय पूरा क्षमतामा सञ्चालन हुन नसकेको अन्नपूर्ण प्राविधिक समस्याका कारण पटकपटक बन्द हुँदै सञ्चालन भइरहेको छ । मङ्सिर ६ गते रातिदेखि क्रसिङ सुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए । तीन वटा चिनी उद्योग रहेको जिल्लामा अन्यले सञ्चालनको तयारी गर्दैगर्दा अन्नपूर्णले क्रसिङ सुरु गरेको हो ।

    images
    images

    यो याममा किसानसँग प्रभावकारी रूपमा समन्वय गरेर क्रसिङ सुरु गरेको उद्योगका प्रबन्धक गुप्ताले बताए । “किसानको पुरानो बक्यौता भुक्तान भइसकेको छ”, उनले भने, “पहिलाको उद्योगी राकेश अग्रवालको दायित्वमा रहेको रकमसमेत हामीले किसानलाई उपलब्ध गराएका छौँ । अग्रवाल जीले बाँकी छैन् भने पनि किसानले पुरानो पूर्जी लिएर आउनु भएको छ । त्यसको भुक्तानी एकमुष्ठ गर्न सम्भव नभएकाले थोरैथोरै गर्दै जानेछौँ । उद्योग सञ्चालनमा सहकार्य गरिदिन किसानसँग आग्रह गरेकाले किसानहरू उत्साहित हुनुहुन्छ ।”

    उद्योगलाई पूर्ण रूपमा विश्वास गरेर उखु दिन नसकिएको स्थानीय उखु किसान बताउँछन् । धन्कौँल गाउँपालिका–३ का विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताए । “मैले उखु रोप्नै छोडिसकेको छु, कम खेती लगाएकाले गाउँको उद्योगलाई दिँदा सहज हुन्छ । अन्नतपूर्णले बढीमा १५ दिनमा भुक्तानी दिने प्रतिबद्धता जनाएको छ । उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका हुन्”, उनले भने ।

    यसअघि उत्पादित उखु इन्दुशङ्कर चिनी उद्योग (हरिवन), गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग (बगदह)मा दिने गरेको महतोले बताए । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाइ गरिरहँदा अन्नपूर्णले भने, किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो ।

    यसवर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको प्रबन्धक दिनेश अग्रहरिले जानकारी दिए । उद्योग सञ्चालनमा आएको भए पनि पूर्ण रूपमा विश्वस्त भएर किसानले उखु नदिँदा उद्योग पटकपटक ‘नो क्यान’को अवस्थामा पुग्ने गरेको छ । उद्योगी तथा व्यवस्थापन पक्षले खेतखेतमा पुगेर किसानलाई उखु दिन आग्रह गरिरहेका किसान वृजेन्द्र रायले बताए । अन्नपूर्ण चिनी उद्योग धन्कौलले गत याममा ६८ हजार तीन सय १० क्विन्टल उखु क्रसिङ गरेर उद्योग बन्द गरेको थियो ।

    महालक्ष्मी चिनी उद्योगले यो यामका लागि क्रसिङ सुरु गरेको जनाएको छ । तीन दिनदेखि उखु सङ्कलन गरेर आजदेखि उद्योग सञ्चालन गरिएको उद्योगका प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए । उद्योगले गत यामको केही भुक्तानी बाँकी राखेको भन्दै उक्त भुक्तानी एक/दुई सातामा गरिने उनको भनाइ छ ।यस वर्ष १८ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको प्रबन्धक सिंहले बताए । उद्योगले गत याममा १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गर्न पाएको थियो ।

    इन्दुशङ्करको तयारी पूरा

    जिल्लामा रहेका तीन उद्योगमध्ये अन्नपूर्ण र महालक्ष्मीले यो यामका लागि क्रसिङ सुरु गरे पनि इन्दुशङ्कर चिनी उद्योगले अन्तिम तयारी पूरा गरेको जनाएको छ । देशमा व्यवस्थित मानिने जिल्लाको हरिवनस्थित इन्दुशङ्र उद्योगले यो यामका लागि क्रसिङको तयारी पूरा भएको जनाएको हो ।उद्योगले मङ्सिरको अन्तिम सातादेखि क्रसिङ सुरु गर्ने तयारी गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए । मङ्सिर १७ गते साइत (डोगा) पूजा गरी क्रसिङको काम थालिने उनको भनाइ छ ।

    “हामी क्रसिङ गर्न तयारी अवस्थमा छौँ”, ठाकुरले भने, “किसानलाई उखु ल्याउन दिने चलान, आन्तरिक व्यवस्थापन मिलाएर अन्तिम सातादेखि उद्योग सञ्चालन गर्नेछौँ ।” इन्दुशङ्कर चिनी उद्योग हरिवनले यो याममा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । गत याममा २१ लाख ४८ हजार छ सय ११ क्विन्टल उखु क्रसिङ गरेर मिल बन्द भएको थियो ।गत याममा जिल्लाका अधिकांश उद्योगले उखु नपाएपछि पूरा समय सञ्चालन हुन सकेका थिएनन् । उखुको अनुदानबापतको रकम भुक्तानीमा ढिलाइ हुँदा जिल्लामा उत्पादित उखु अन्य जिल्ला पठाइएको किसानको भनाइ छ ।

    समर्थन मूल्य अन्योलमा

    मङ्सिर आधा सकिनै लाग्दासमेत सरकारले यो यामका लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किंदै जाँदा सरकारले समर्थन मूल्य तय नगरेको भन्दै तत्काल समर्थन मूल्य तय किसानले माग गरेका छन् ।“समय घर्किएपछि उखुको समर्थन मूल्य तोकेर समस्या समाधान हुदैन”, उखु किसान रवि पाण्डेले भने, “सरकारले किसानको लगानी बुझेर समर्थन मूल्य यथाशीघ्र तोकी किसानलाई उखु बिक्रीको सहज वातावरण बनाउनुपर्छ ।” राज्यले उखुको समर्थन मूल्य समयमा नतोक्दा शून्य मूल्यमा उखु बेच्नु परेको किसानले गुनासो गरेका छन् । अर्को याममा काट्ने उखुको समर्थन मूल्य यस वर्ष नै तय हुनुपर्नेमा उनले जोड दिए ।

    प्हिलानै समर्थन मूल्य तय गर्ने व्यवस्था भए किसानलाई फाइदा हुने बताउँदै यसो भएमा उखु लगाउने वा नलगाउने किसानले पहिला नै निर्णय लिन सक्ने पाण्डेको भनाइ छ ।अहिलेको व्यवस्थाअनुसार किसानलाई अन्योलमा राखेर सरकारले अन्याय गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । सरकारले यथाशीघ्र उखुको समर्थन मूल्य तोकी किसानलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

    यसैबीच, उखु उद्योगले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरिद गर्ने तयारी गरेका छ । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई गत यामको रु पाँच सय ६५ दिएर उखु खरिदको व्यवस्था मिलाइएको महालक्ष्मी चिनी उद्योग बगदहले जनाएको छ । किसान भने पछि सरकारले थपेको बाँकी रकम नपाउने चिन्तामा छन् ।यसअघि पनि यसरी उखु खरिद गरेको रकम नपाएको गोडैता–३ का उखु किसान मुनिम ठाकुरले गुनासो गरे । यही अवस्था रहिरहे उखु खेती गर्ने वातावरण नभएको भन्दै सरकारले किसानलाई खेती गर्ने सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । रौतहट, बारा, महोत्तरी, सिराहासम्मका उद्योगले यहाँ उत्पादित उखु लैजान सुरु गरिसकेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend