काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले ८ वर्षअघि लिएको परीक्षा र नतिजा रद्द गरिएको जनाएको छ। आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८–०७३–०७४ अर्न्तगत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरिएको जनाएको हो ।
‘उपप्रशासक, उपआर्थिक नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियरिङ्ग), प्राविधिक अधिकृत (कम्प्युटर), प्राविधिक सहायक (कम्प्युटर), र ड्राइभरको हकमा समेत कोडिङ, डिकोडिङ, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन लगायतका कार्यमा सेवा आयोगको आन्तरिक कार्यविधि, २०६७ को पूर्णरुपमा पालना भएको नदेखिएको साथै त्रिवि ऐन, नियम तथा विनियममा भएको व्यवस्थाको समेत पूर्ण पालना गरेको नपाइएको हुँदा उल्लेखित परीक्षा सँग सम्बन्धित कार्य समेत दूषित देखिएकोले त्रिभुवन विश्वविद्यालय, शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० (२०८०–३–१२ सम्मको संशोधन सहित) को नियम ९५ (५) मा भएको व्यवस्थाका आधारमा लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्तालगायत उक्त विज्ञापनसँग सम्बन्धित सम्पूर्ण प्रकृया (विज्ञापनबाहेक) आयोगको २०८१ मंसिर ७ गते सम्पन्न बैठकको निर्णय बमोजिम रद्द गरिएको छ’, सूचनामा भनिएको छ ।
उक्त विज्ञापनमा नियमानुसार आवेदन पेश गरी नामावली स्वीकृत भई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारको पुनः लिखित परीक्षा सञ्चालन गरिने सेवा आयोगले जनाएको छ।
सोका लागि नामावली अद्यावधिक गर्नुपर्ने भएकोले २०८१ मंसिर १६ गते देखि २१ गते भित्र व्यक्तिगत विवरण तथा सो सँग सम्बन्धित प्रमाणित कागजात आयोगमा पठाउन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
आयोगले उप्रशासक, अधिकृत देखि श्रेणी विहिन तहसम्म १६ वटा पदमा विज्ञापन गरी परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले छानबिन गरि २०७५ मा सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मा सहित ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, पुस्तकालय सहायक पदहरुमा परीक्षाको परिणाम फेरबदल गर्ने गराउने काम गरी भ्रष्टाचार जन्य कसूर गरेको विशेष अदालतले २०७९ असोज ४ गते फैसला गरेको थियो।




.gif)





