images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट...

राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत

राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

    images
    images

    तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेत स्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यस मध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब रु ३० करोडको विद्युत् बिक्री गरिसकेको छ । यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

    त्यस्तै, एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट यही महिना भित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँद याममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ । चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी बाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।

    images
    images

    सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, विभिन्न आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९ को महामारी, सामान आयातमा सिर्जित समस्या लगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाको निर्माण प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको जानकारी दिए।

    “म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएका बेला आम सर्वसाधारणको पनि लगानी रहनेगरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाहरुको निर्माणमा केही समय लागे तापनि तीनवटै आयोजनाहरुको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौँ उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन”, कार्यकारी निर्देशक घिसिङले भने । भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ ।

    माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु सात अर्ब ३५ करोड थियो । आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहले निर्माण अवधिको व्याज बाहेक आयोजनाहरुको लागत रु नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । उनले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रति मेगावाट रु २२ करोड ५० लाख बराबर हुने देखिएको उल्लेख गरे । चिलिमेका चारवटै आयोजनाहरुमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो । कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९ दशमलव ३६ प्रतिशत, प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, रसुवाका स्थानीय तहको एक दशमलव २८ प्रतिशत संस्थापक शेयर छ ।

    कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारी, आयोजना प्रभावित रसुवा वासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण शेयर छ । माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो साञ्जेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०।७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend