images

२०८३ आश्विन १९ गते

images
images
images

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु गरेको हो ।

    images
    images

    आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय बाट आज देखि यो कार्यक्रम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यो कार्यक्रम पालिका भित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम शुरु गरिएको चुमानले बताए ।

    रामशाह मा.वि.मा एक हजार आठ सय विद्यार्थी अध्ययनरन छन् । त्यस मध्ये एक हजार एक सय छात्रा छन् । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई एक हजार बचत मौज्दात सहित निःशुल्क बाल बचत खाता खोलिदिने चुमानले बताए । उनले भने, “कक्षा १ देखि १० सम्मका छात्राको बाल बचत खाता खोलेर एक हजार जम्मा गरिदिन्छौँ । सानै देखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

    images
    images

    शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानै देखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्‍याउने रहेको चुमानले उल्लेख गरे ।

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले रामशाह मा.वि.बाट शुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा दुई हजार पाँच सय छात्रा अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंक सँगको समन्वयमा खोलिनेछ । उक्त खातामा प्रतिविद्यार्थी एक हजार गाउँपालिकाले बचत गरिदिनेछ । सोबापत कुमारी बैंकले २० बजार बराबरको स्वास्थ्य बीमाको सुविधा दिनेछ । कुँवरले भने, “यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।”

    यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

    आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने चुमानले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend