काठमाडौं, १५ कात्तिक । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (आइतबार)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गरिने भएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले गत बिहीबार सूचना जारी गर्दै टोल शुल्क सङ्कलन सुरु गर्न लागेको जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार टोल शुल्क सङ्कलन गर्न लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले सार्वजनिक गरेको शुल्क दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर तथा माइक्रोबसजस्ता हलुका सवारीसाधनले ६५ रुपैयाँ तिर्नुपर्नेछ। काठमाडौं हुँदै बाहिरिने यस्ता सवारीसाधनका लागि ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेशमा २६० रुपैयाँ र बाहिरिने क्रममा २०० रुपैयाँ टोल शुल्क तोकिएको छ।
यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।
सवारीसाधनको प्रकार र आवागमनको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको हो।




.gif)





