काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने भनिएका दुवै खेल काठमाडौंमा भइरहेको वर्षाका कारण प्रभावित हुने सम्भावना बढेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरू मौसममा निर्भर बनेका छन्।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ।
काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहेको थियो। शनिबार बिहान पनि वर्षा नरोकिएपछि निर्धारित समयमा खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ। यद्यपि, दिउँसोपछि मौसममा सुधार आउन सक्ने पूर्वानुमान गरिएको छ।
वर्षा निरन्तर जारी रहे खेल सुरु हुन ढिलाइ हुने वा निर्धारित ओभर घटाएर खेलाउनुपर्ने अवस्था आउन सक्छ। वर्षाका कारण खेल सञ्चालन हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।
एनपीएलको खेलमा नतिजा निकाल्न दुवै टोलीले कम्तीमा पाँच–पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ। निर्धारित न्यूनतम ओभरको खेलसमेत सम्भव नभएमा खेलको नतिजा निकाल्न नसकिने अवस्था आउन सक्छ।
यसपटक वर्षाका कारण खेल प्रभावित भएमा अर्को दिन खेलाउने अर्थात् रिजर्भ डे को व्यवस्था छैन। त्यसैले आजका दुवै खेलको नतिजा मौसम र मैदानको अवस्थाले निर्धारण गर्नेछ।
क्रिकेटप्रेमीहरू भने चितवन–लुम्बिनी तथा विराटनगर–सुदूरपश्चिमबीचको प्रतिस्पर्धा वर्षाले प्रभावित नबनोस् भन्ने प्रतीक्षामा छन्।




.gif)





