काठमाडौं, १२ कात्तिक । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले पछिल्लो समय निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। सोही क्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। उक्त उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार आठ दिन अवधिको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते गरिनेछ।
बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत खिच्दा वित्तीय प्रणालीमा उपलब्ध रकमको व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिन्छ।




.gif)





