images

२०८३ कार्तिक १३ गते

images
images
images
  • अन्य
  • भर्‍याङ चढेर भागेका कैदी पक्राउ, कास्की...

भर्‍याङ चढेर भागेका कैदी पक्राउ, कास्की कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न

भर्‍याङ चढेर भागेका कैदी पक्राउ, कास्की कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौं, १२ कात्तिक । कास्की कारागारबाट बिजुली मर्मतका लागि प्रयोग गरिएको भर्‍याङ चढेर फरार भएका जन्मकैदको सजाय भोगिरहेका कैदी सन्तोष जलारी पक्राउ परेका छन्। उनको फरार घटनापछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

    images
    images

    पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय जलारी गत असोज ३१ गते राति करिब २ बजे कारागारबाट भागेका थिए। कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा २५ वर्ष कैद सजाय भोगिरहेका उनी कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार जलारीले करिब एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएका थिए। बिजुली मर्मतका लागि कारागारभित्र ल्याइएको भर्‍याङ आफ्नो पसल भएको ठाउँमा राखेर उनले मध्यरातमा भाग्ने योजना कार्यान्वयन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    images
    images

    जलारी कारागारभित्र पसलसमेत सञ्चालन गरेर बस्ने गरेका थिए। प्रहरी उपरीक्षक कार्कीले कारागारको सुरक्षार्थ खटिएका प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा उनी भाग्न सफल भएको बताए। उनले नाइके तथा अन्य कैदीलाई समेत झुक्याएर भागेको प्रहरीको भनाइ छ।

    कारागारका जेलर घनश्याम गौतमका अनुसार जलारी फरार भएको जानकारी भोलिपल्ट बिहान कैदी गणनाका क्रममा मात्र भएको थियो। घटनापछि कारागारको सुरक्षा व्यवस्था र कैदीको निगरानी प्रणालीबारे प्रश्न उठेको उनले बताए।

    गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार जलारीलाई पक्राउ गरेको थियो। उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

    कर्तव्य ज्यान र डाँकासम्बन्धी मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका जलारीलाई पछिल्लो कसुरमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने प्रहरीले जनाएको छ।

    कारागारबाट कैदी फरार हुने घटना विरलै हुने गरेको बताउँदै प्रहरी उपरीक्षक कार्कीले यस घटनाले कारागारको सुरक्षा संवेदनशीलताप्रति सम्बन्धित निकायलाई थप सचेत गराएको उल्लेख गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend