बाँके । बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीको आवागमन सहज भएको छ। छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्या भोग्दै आएका स्थानीयलाई अटो रिक्सा सञ्चालनले ठूलो राहत दिएको छ।
नरैनापुर–५ जमुनीगाउँकी टीका बुढाथोकीका अनुसार बिहान र साँझ यात्रुबाहक बस सञ्चालन भए पनि अन्य समयमा आवागमनमा कठिनाइ हुने गरेको थियो। अटो रिक्सा सञ्चालनमा आएपछि उक्त समस्या कम भएको उनले बताइन्।
नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुर क्षेत्रमा अटो रिक्सा सञ्चालन विस्तार भएको हो। यसले स्थानीयवासीलाई गाउँबाट नेपालगञ्ज तथा गाउँपालिकाभित्रका विभिन्न बस्तीमा आवतजावत गर्न सहज बनाएको छ।
सदरमुकाम नेपालगञ्जबाट नरैनापुर करिब ४४ किलोमिटर टाढा छ। नरैनापुर–६ का सोहनलाल यादवका अनुसार अटो रिक्सा सञ्चालनमा आएपछि बस कुरेर लामो समय बस्नुपर्ने बाध्यता हटेको छ। अहिले अटो रिक्साबाट करिब एक घण्टामै नेपालगञ्ज पुग्न सकिने उनले बताए।
‘रिक्सामा चढेपछि घामपानीको समस्या हुँदैन र धेरै समय पनि लाग्दैन। सजिलै गन्तव्यमा पुग्न सकिन्छ,’ यादवले भने, ‘नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुगेको छ।’
नरैनापुर गाउँपालिकाका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयालगायतका गाउँबस्तीमा अटो रिक्सा आवागमनको सहज माध्यम बनेको छ। निजी सवारीसाधन नभएका सर्वसाधारणलाई गाउँपालिकाभित्रै एक वडाबाट अर्को वडामा जानसमेत सुविधा पुगेको छ।
अटो रिक्सा सञ्चालनबाट बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा अशक्त नागरिक बढी लाभान्वित भएका छन्। महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि दैनिक आवागमनका लागि यसको प्रयोग गर्दै आएका छन्।
राप्ती सोनारी–५ स्थित भुवर भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टका अनुसार पहिले करिब एक घण्टा पैदल हिँड्नुपर्ने दूरी अहिले अटो रिक्साबाट १५ देखि २० मिनेटमै पार गर्न सकिन्छ। नेपालगञ्जको सल्यानीबागबाट राप्ती सोनारीको फत्तेपुर हुँदै अगैयासम्म सञ्चालन हुने अटो रिक्साले स्थानीयवासी र कामकाजी कर्मचारीलाई सहज बनाएको उनले बताए।
अटो रिक्सा सञ्चालनले यात्रुहरूलाई सुविधा दिनुका साथै स्थानीय स्तरमै रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ। नरैनापुर–१ कटकुइँयाका अटोचालक जाकीर अलीले अटो चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गरिरहेको बताए।
चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्म प्रतिव्यक्ति २५० रुपैयाँ र गाउँपालिका केन्द्र नरैनापुरदेखि नेपालगञ्जसम्म २०० रुपैयाँ भाडा लिने गरेको अलीले जानकारी दिए।
ग्रामीण क्षेत्रमा सडक पूर्वाधारको विकाससँगै अटो रिक्सा सञ्चालनले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँच विस्तार गर्न सहयोग पुर्याएको छ।




.gif)





