काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्वका क्रममा आफू चुके तत्काल सभापतिबाट अलग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिगत कमजोरी र गलत प्रवृत्तिको भार पार्टीले बोक्न नसक्ने बताएका हुन्।
सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता व्यक्त गरे। लाखौँ नेता तथा कार्यकर्ताको रगत र पसिनाबाट बनेको कांग्रेस सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै उनले व्यक्तिले गरेका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।
नेतृत्वको कमजोरीको भार पार्टीले बोक्दा संस्था नै कमजोर हुने उनको भनाइ थियो। पार्टीको गरिमा र विश्वसनीयता जोगाउन नेतृत्वले आफ्नो आचरणप्रति जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
मुलुकको वर्तमान अवस्थाबारे चर्चा गर्दै थापाले युवाहरूको विदेश पलायनलाई गम्भीर चिन्ताको विषयका रूपमा प्रस्तुत गरे। दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु देशका लागि दुःखद अवस्था भएको उनले बताए।
रातारात चमत्कार गर्न नसकिए पनि युवाहरूले स्वदेशमै स्वाभिमानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
सभापति थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने पनि स्पष्ट पारे। उनले नेता तथा कार्यकर्तालाई निराश भएर कोठाभित्रै गुनासो गरिरहनुभन्दा पार्टी निर्माण र सुधारको काममा सक्रिय हुन आग्रह गरे।
थापाको सम्बोधनले पार्टी नेतृत्वको जवाफदेहिता, आन्तरिक एकता र युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण तयार पार्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ।




.gif)





