images

२०८३ कार्तिक २ गते

images
images
images
  • अन्य
  • जिबी राईको वक्तव्यः आफैं उपस्थित हुन...

जिबी राईको वक्तव्यः आफैं उपस्थित हुन तयार, बचत फिर्ता गर्ने दाबी

जिबी राईको वक्तव्यः आफैं उपस्थित हुन तयार, बचत फिर्ता गर्ने दाबी

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • काठमाडौं । पाँच सहकारीको बचत अपचलन प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राईले आफू प्रहरीसमक्ष उपस्थित हुन तयार रहेको बताएका छन्। अज्ञातस्थलबाट प्रेस वक्तव्य जारी गर्दै उनले बचतकर्ताको रकम फिर्ता गर्न प्रतिबद्ध रहेको र त्यसका लागि जग्गा–जमिन व्यवस्थापन गरिरहेको दाबी गरेका छन्।

    images
    images

    राईले आफूलाई खोज्न राज्यको शक्ति र संयन्त्र प्रयोग गर्नुभन्दा बचत फिर्ता गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। उनले निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायमार्फत बचतकर्ताको रकम व्यवस्थापन गर्ने दाबीसमेत गरेका छन्।

    ‘के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन। म आफैं उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु,’ उनले वक्तव्यमा भनेका छन्।

    images
    images

    उनले वर्तमान सरकारले बचतकर्ताको रकम सुरक्षित गर्न चालेका कदमको स्वागत गर्दै सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन्। सरकारको पछिल्लो कार्यशैलीले आफूलाई सार्वजनिक रूपमा धारणा राख्ने हिम्मत दिएको उनको भनाइ छ।

    राईले सहकारीको रकम सीमाभन्दा बाहिर लगानी भएको स्वीकार गर्दै विभिन्न परिस्थितिका कारण सहकारी संस्थाहरू निर्धारित सीमाभन्दा बाहिर गएको बताएका छन्। आफूहरू पनि त्यस्तो परिस्थितिबाट अलग रहन नसकेको उनले उल्लेख गरेका छन्।
    ग्यालेक्सी टेलिभिजनको जिम्मेवारी आफूले लिने दाबी

    राईले ग्यालेक्सी टेलिभिजनमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोर्खा मिडिया नेटवर्क आफ्नो भएको र सहकारीसँग सम्बन्धित आर्थिक दायित्व पनि आफ्नै भएको उल्लेख गर्दै उनले रवि लामिछाने र छविलाल जोशीलाई यस प्रकरणमा जोड्नु उचित नहुने धारणा राखेका छन्।

    उनका अनुसार ग्यालेक्सी टेलिभिजनमा सहकारीको रकम व्यवस्थापन गर्ने विषयमा अन्य सञ्चालकको संलग्नता थिएन। कर्मचारी वा अन्य व्यक्तिको नाम तथा कागजात अभिलेखमा प्रयोग भएको भए दुरुपयोग वा असावधानीका कारण हुन सक्ने उनको दाबी छ।

    सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी भएको प्रकरणमा लामिछाने र जोशीलाई समेत अभियुक्त बनाएर मुद्दा दायर गरिएको थियो। उक्त विषयलाई लिएर राजनीतिक प्रतिशोधको आरोपसमेत लाग्दै आएको छ। राईले यसपटक सार्वजनिक गरेको वक्तव्यमा उनीहरूको संलग्नताबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्।
    पाँच जिल्ला अदालतमा मुद्दा विचाराधीन

    राईविरुद्ध काठमाडौं, चितवन, पर्सा, कास्की र रुपन्देही जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन्। मुद्दा दायर भएयता उनी फरार रहँदै आएका छन्।

    यसैबीच, राईको वक्तव्यसँगै सम्बन्धित विषयमा छोटो अडियोसमेत सार्वजनिक भएको छ। उनले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि रकम फिर्ताको समयसीमा, सम्पत्तिको वास्तविक मूल्य र कार्यान्वयनको ठोस योजनाबारे भने विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

    बचतकर्ताको रकम फिर्ता हुने विषयमा उनको प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा आगामी प्रक्रियाले स्पष्ट पार्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend