काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना सम्पन्न भएको छ। मधेस र बागमती प्रदेशका अन्तिम परिणाम आएसँगै शुक्रबार बिहान सबै पदको मतगणना सकिएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झण्डै एक सातामा सम्पन्न भएको हो। लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो।
त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको कटुवालले जानकारी दिए। सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक नतिजा सार्वजनिक गरिने उनले बताए।

सात हजारभन्दा बढी मतदाताको मतगणना एक सातामा
गत असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन राति सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। यसअघि १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।

मतगणना छिटो सम्पन्न गर्न दिनरात गरी करिब २५ समूह बनाएर काम गरिएको उनले बताए। यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो।
२२९ पदका लागि निर्वाचन
महाधिवेशनमा कुल २२९ पदका लागि निर्वाचन भएको थियो। निर्वाचन प्रक्रियामा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।
कटुवालका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभई सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको उनको दाबी छ।

शपथ ग्रहण दशैँपछि
निर्वाचन समितिले मतपरिणाम रुजु गरी सार्वजनिक गरेपछि निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउने तयारी गरेको छ। उक्त कार्यक्रम दशैँलगत्तै गर्ने तयारी रहेको जनाइएको छ।
शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। पहिलो बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल गरी खाका तयार गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।




.gif)





