पोखरा। गोरखाको बुढीगण्डकी बाढी प्रभावितको राहत वितरण स्थानीय तह मार्फत गर्ने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। साेमबार बसेककाे बैठकले तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय विपद् व्यवस्थापन कोषमार्फत स्थानीय तहमै मिलाउने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
यसैगरी बाढी पहिरो तथा विपद्बाट घरहरूमा पुगेको क्षतिको थप विवरण स्थानीय तहहरूबाट सङ्कलन गरी सिफारिस भएर आएपछि सोहीअनुसार थप राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने तयारी समितिले गरेको छ।‘बैठकमा खोज तथा राहत, उद्धारलाई थप प्रभावकारी बनाउने र प्रभावितहरूलाई तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहमार्फत मिलाउने निर्णय भएको छ,’ रातोपाटीसँग उनले भने, ‘क्षतिको पहिलो विवरण सार्वजनिक भइसकेको छ। थप विवरण स्थानीय तहहरूबाट सिफारिस भएर आएपछि सोहीअनुसार थप प्रक्रिया अगाडि बढाइनेछ ।’आइतबारको बाढीमा परेर चुमनुब्री गाउँपालिका ६ चुम्चेतस्थित उङ्गिलुङ भेडिगोठमा बस्ने ५ जना सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी भइरहेको प्रशासनले जनाएको छ ।
६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया लाक्पा थोर्मा लामा, ६६ वर्षीया सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन भएका हुन् । बाढीबाट करिब १ सय घरमा क्षति भएको छ। जसमध्ये ४५ घर पूर्ण रूपमा नष्ट भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ।चुमनुब्री गाउँपालिकाको सल्लेरी, घट्टेखोला, पायु, दोभान र बगरमा करिब ३१ घरधुरी बगेका प्रशासन कार्यालयले जनाएको छ । यस्तै, धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानमा करिब ५० घरधुरीमा क्षति भएको छ।आरुघाट गाउँपालिकाको सोतीमा करिब १५ घरधुरीमा क्षति पुगेको छ । यसबाहेक उङ्गिलुङ खोला क्षेत्रका ४ वटासहित कुल ३४ वटा गोठमा क्षति पुगेको स्थानीय तहहरूले बताएका छन् ।६ वटाभन्दा बढी पुल बगाएको छ। आरुघाटस्थित गोरखा र धादिङ जोड्ने मोटरेबल पुल बगाएको छ भने आरुघाट गाउँपालिकाकै सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको छ । धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।
चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने झोलुङ्गे पुल तथा चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल बगाएको छ। चुमनुब्री गाउँपालिका ६ स्थित सर्दिभीरको क्यान्टिलिभर पुल र लोक्पाको झोलुङ्गे पुल बगाएको छ । यो पुल बगाउँदा चुम्लिङ र छेकम्पार जाने बाटो पूर्ण रूपमा बन्द भएको गोरखा प्रशासनले जानकारी दिएको छ।कालेभीर र सल्लेरी क्षेत्रमा बाटो कटान हुँदा जगत गाउँका २५ घर पूर्ण रूपमा सम्पर्कविहीन भएका छन् । चुमनुब्री गाउँपालिका ३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवन बाढीले बगाएको छ । तीन वटा जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङ बगाएको छ भने धार्चेको यारु र दोभानमा रहेका दुई वटा हाइड्रोपावरमा क्षति पुगेको छ । सल्लेरी हाइड्रोपावरमा क्षति पुगेपछि न्याक, फिलिम, चिसापानी, नाक्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, उहिया लगायतका बस्तीमा विद्युत आपूर्ति ठप्प छ । बाढीपछि चुम क्षेत्रमा ८७ जना विदेशी पर्यटक अलपत्र परेका छन् भने जगत क्षेत्रमा ९८ जना विदेशी पर्यटक र ७३ जना गाइड तथा भरिया गरी १ सय ७१ जना रोकिएका छन्।




.gif)





