गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्चेस्थित बुढीगण्डकी नदीको सहायक नदीतर्फ पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा सामान्य वर्षा मात्र भएकाले तत्कालीन वर्षाका कारण नभई पहिरोका कारण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको हो। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६:०० बजे घटनाको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। भू-उपग्रह (स्याटेलाइट) तस्बिर तथा प्रारम्भिक सूचनाका आधारमा माथिल्लो तटीय क्षेत्रमा पहिरोले नदी थुनिएर फुटेपछि एक्कासि बाढी आएको हुनसक्ने आकलन गरिएको छ।
आरुघाट बाढी मापन केन्द्रमा बिहान ६:३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। सतर्कता तह ४.५० मिटर रहेकोमा बिहान ७:५० बजे जलसतह ५.०१ मिटर पुगी खतराको तह (५ मिटर) नाघेको थियो। त्यसपछि जलसतह केही घटे पनि पुनः तीव्र रूपमा बढ्दै बिहान ८:३० बजे ६.२२ मिटर र ८:४० बजे ८.४३ मिटर पुगेको थियो। लगत्तै बाढीले पुलसहित बाढी मापन केन्द्र नै बगाएकाले त्यसपछिको थप विवरण प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।
तटीय क्षेत्रमा उच्च सतर्कता, २ लाखलाई SMS मार्फत पूर्वसूचना
बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले बिहान ८:०० बजे फेसबुकमार्फत सूचना जारी गर्दै बुढीगण्डकी तटीय क्षेत्रदेखि बेनीघाटसम्मका जोखिमयुक्त बस्ती खाली गर्न र राजमार्ग तथा करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरेको थियो। त्यस्तै धादिङ, मुग्लिन, तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको थियाे। महाशाखाले दुई पटक गरी कुल करीब २ लाख सर्वसाधारण तथा सरोकारवालाहरूलाई SMS मार्फत पूर्वसूचना पठाइ सुरक्षित स्थानमा रहन र अर्को सूचना जारी नभएसम्म सतर्कता अपनाउन अपिल गरेको जनाएकाे छ। नदीको बहाव घटेको देखिए तापनि जोखिम भने पूर्ण रूपमा नटरेकाले आज साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। साथै, जोखिमयुक्त सडक तथा पुलमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।





.gif)





