काठमाडौं। शिवम् सिमेन्टको अध्यक्ष सुरेन्द्र कुमार गोयलले कम्पनीको आर्थिक संकट टार्न पटक-पटक शेयर बिक्री गरेका छन् । साथै उनले वित्तीय संकटले चरम अवस्थामा पुगेपछि अध्यक्ष पदबाट राजीनामा दिएर छोरा गौरव गोयललाई कम्पनीको जिम्मा लगाएका छन्।
केही समय अघि डेढ अर्बभन्दा बढीको शेयर बिक्री गर्दा कम्पनीको संरचनामा समेत व्यापक परिवर्तन गरेको जानकार स्रोत बताउँछ । स्थानीय दबाब र आर्थिक संकटका कारणले त्यसपछि वित्तीय र प्रशासनिक असन्तुलनको गम्भीर अवस्था आएको भन्दै निकै चर्चा भएको थियो।
कम्पनी हेटौंडा उपमहानगरपालिकाको अत्यधिक जनघनत्व भएको मध्यभागमा रहेको र प्रदूषणको समस्या तथा राजनीतिक दलहरूको निरन्तरको दोहनले यसलाई अप्ठेरो अवस्थामा पुर्याएको छ ।
पछिल्लो एक वर्षमा उत्पादनमा गिरावट, ढुंगाको अभाव र भुक्तानी सन्तुलनका समस्याले कम्पनीलाई आर्थिक संकटमा पुर्याएको छ । जसका कारण शिवम् सिमेण्ट गुणस्तरहीन भएको यस क्षेत्रमा कार्यरत विज्ञहरुले बताउने गरेका छन् ।
शिवम् सिमेण्टमा चर्काे समस्या आएपछि अध्यक्ष गोयलले कानूनी व्यवस्थालाई बेवास्ता गर्दै केही महिनाअघि मात्र २७ लाख ४३ हजार नौ सय कित्ता शेयर बिक्री गरेका हुन्, जुन धितोपत्र कानुनको विपरीत हो । धितोपत्र बोर्डले यसको छानबिन शुरु गरे पनि ठोस कारवाही गरेको छैन ।




.gif)





