images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तीन महिनापछि सञ्चालनमा आयो मार्तडी–कोल्टी सडक,...

तीन महिनापछि सञ्चालनमा आयो मार्तडी–कोल्टी सडक, स्याउ ढुवानी सहज

तीन महिनापछि सञ्चालनमा आयो मार्तडी–कोल्टी सडक, स्याउ ढुवानी सहज

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • बाजुरा । तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ।उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले सवारीसाधनमार्फत सदरमुकाम ल्याउन सहज भएको छ ।वर्षायाम सुरु भएसँगै असारको दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा पाण्डुसैनलगायत माथिल्लो क्षेत्रका किसानलाई उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन असहज थियो। त्यस क्षेत्रबाट सदरमुकामसम्मको पहुँच सडक अवरुद्ध हुँदा केही किसानले भने कर्णाली करिडोर हुँदै नेपालगञ्ज, धनगढीसम्म समेत स्याउ लैजान परेको थियो।

    images
    images

    स्वामीकात्तिक खापर गाउँपालिकामा उत्पादित केही स्याउ भने किसानले धनगढीसम्म पुर्‍याएका छन्।अहिले सडक सञ्चालनमा आएपछि भने सहज रुपमा सदरमुकाममा स्याउ ढुवानी गर्न थालेको स्याउ कृषक उज्जल रावतले बताए।बारीबाटै सवारीसाधनमार्फत सिधैँ मार्तडीसम्म स्याउ ल्याउन सकिने भएपछि समय र श्रम दुवै घटेको उनले बताए। अहिले बारीबाटै स्याउ ढुवानी गरी मार्तडी बजारमा रु १३० देखि रु२०० प्रतिकेजीमा बिक्री भइरहेको उनले बताए।पाण्डुसैन क्षेत्रमा उत्पादन हुने स्याउ स्थानीय बजार र बाहिरी जिल्लामा समेत बिक्री हुने गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा पर्याप्त स्याउ उत्पादन भए पनि बजारसम्म ढुवानी गर्न सहज सडक र भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषकले समस्या झेल्नुपरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामी कात्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ ।

    जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष स्याउ उत्पादन थप बढेको र ढुवानीका लागि अनुदान कार्यक्रम राखिएको भए पनि हालसम्म प्रदेश सरकारको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिए।मार्तडी–कोल्टी सडकखण्ड लामो समयपछि सञ्चालनमा आएसगै त्यस क्षेत्रका नागरिकको आवतजावतसँगै कृषि उपजको ढुवानीमा समेत सहजता भएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए।प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडक मर्मतपछि सञ्चालनमा ल्याइएको जानकारी दिए। त्यस सडकको विभिन्न स्थानमा वर्षाका कारण पहिरो झर्ने र खोलामा पानी सतह बढेपछि सडक पूर्ण रूपमा बन्द थियो। सडकमा यातायात सञ्चालन हुन नसक्दा जिल्लाका पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्न परेको थियो।

    images
    images

    स्थानीय दल रोकायाका अनुसार हरेक वर्ष सडक अवरुद्ध हुँदा यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा रु दुई हजारसम्म भाडा तिर्दै तीन वटा सवारीसाधन फेर्नुपर्ने बाध्यता रही आएको थियो । मुख्य गरी बाउली र रजातोली खोलामा पुल नहुँदा बर्षादमा सडक अवरुद्ध हुने गरेको छ । करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै तोकिएको मापदण्ड अनुरुप स्तरोन्नति हुन सकेको छैन।सरकारको बहुवर्षीय योजनामा परेको उक्त सडक कालोपत्रे र स्तरोन्नतिमा भइरहेको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend