जनकपुरधाम । बिहानैदेखि जनकपुरधामका सडकमा सरसफाइकर्मीको चहलपहल हुन्छ। टिपर र ट्र्याक्टरमा फोहोर उठाइन्छ, सडक सफा गरिन्छ। तर, केही समयपछि फेरि कतिपय चोक र सडक किनारमा फोहोर देखिन थाल्छ। यसको मुख्य कारण हो—सहरसँग आफ्नै स्थायी डम्पिङ साइट छैन।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन। मुख्य सडकदेखि भित्री गल्लीसम्म थुप्रिने फोहोरले सहरको सौन्दर्यमात्र प्रभावित भएको छैन, बाहिरबाट आउने पर्यटक र स्थानीय बासिन्दालाई समेत समस्या हुने गरेको छ।
स्थानीय तहको निर्वाचन भएको करिब नौ वर्ष पुगिसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाले स्थायी ल्याण्डफिल साइट बनाउन सकेको छैन। अहिले उपमहानगरपालिकाले स्थानीयसँग जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएको छ। तर, भाडामा लिइएका स्थान केही समयमै भरिने भएकाले नयाँ ठाउँ खोजिरहनुपर्ने बाध्यता छ।
उपमहानगरपालिकाको सरसफाइ शाखाका अनुसार नगर क्षेत्रमा दैनिक ४० देखि ५० टिपसम्म फोहोर संकलन हुन्छ। त्यसका लागि एक सयभन्दा बढी सफाइकर्मी परिचालन हुँदै आएका छन्। तर फोहोर उठाएपछि कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या भने ज्यूँका त्यूँ छ।
सरसफाइ शाखाका प्रमुख श्याम ठाकुरका अनुसार डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा सबैभन्दा बढी समस्या सफाइकर्मीले नै भोग्नुपरेको छ।
“ल्याण्डफिल साइट छैन, फोहोर संकलन हुन्छ अनि फाल्ने कहाँ ?” ठाकुरको प्रश्न छ।
उनका अनुसार विगतमा मंगलोहिया पुल आसपास तथा सिक्स लेनको दक्षिणपट्टि फोहोर विसर्जन गरिन्थ्यो। ती स्थान पनि भरिएपछि अहिले फेरि नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको छ। फोहोर विसर्जन गर्ने क्रममा स्थानीयको विरोधसमेत सामना गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
वर्षौँदेखि दोहोरिँदै आएको समस्या
जनकपुरधाममा डम्पिङ साइट निर्माणको विषय नयाँ होइन। २०७४ सालको स्थानीय तह निर्वाचनपछि तत्कालीन मेयर लालकिशोर साहले पनि फोहोर व्यवस्थापनलाई नगरको प्रमुख समस्याका रूपमा उठाएका थिए।
त्यसअघि नै एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याइएको थियो। तर आवश्यक जग्गा उपलब्ध हुन नसकेपछि करिब ३५ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको थियो।
२०७९ को स्थानीय तह निर्वाचनअघि वर्तमान मेयर मनोजकुमार साहले पनि स्थायी डम्पिङ साइट निर्माणलाई प्रमुख चुनावी एजेन्डा बनाएका थिए। निर्वाचित भएपछि पहिलो दिनदेखि फोहोर संकलन र व्यवस्थापनमा काम अघि बढाइए पनि स्थायी डम्पिङ साइट निर्माणको योजना भने अझै पूरा हुन सकेको छैन।
फेरि भाडामा जग्गा खोज्दै उपमहानगर
स्थायी समाधान नभएपछि जनकपुरधाम उपमहानगरपालिकाले पुनः जग्गा भाडामा लिन सूचना निकालेको छ। यसअघि सूचना जारी गर्दा कुनै निवेदन नपरेपछि दोस्रोपटक जग्गा लिजमा लिन प्रक्रिया अघि बढाइएको हो।
उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि एउटै स्थानमा आवश्यक क्षेत्रफल भएको जग्गा खोजेको छ। आपसमा जोडिएका जग्गा भए विभिन्न जग्गाधनीले संयुक्त रूपमा पनि प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रस्तावित जग्गा बस्ती, विद्यालय, सरकारी तथा सार्वजनिक संरचना, वन, चरन क्षेत्र, नदी–नाला लगायतका संवेदनशील क्षेत्र अतिक्रमण गरेको हुनुहुँदैन। जग्गाको स्वामित्व विवादरहित हुनुका साथै सवारीसाधन सहज रूपमा पुग्न सक्ने सडकसमेत हुनुपर्नेछ।
फोहोर व्यवस्थापन स्थल बस्ती र विद्यालयबाट कम्तीमा एक किलोमिटर टाढा हुनुपर्ने मापदण्ड तोकिएको छ। जग्गाधनीले नागरिकता, जग्गाधनी प्रमाणपत्र, मालपोत तिरेको रसिद र नक्सासहित निवेदन दिनुपर्नेछ। सूचना प्रकाशित भएको सात दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।
१० बिघा जग्गा चाहिन्छ
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेका अनुसार स्थायी डम्पिङ साइटका लागि कम्तीमा १० बिघा जग्गा आवश्यक पर्छ।
उनका अनुसार जनकपुरधामभित्र पर्याप्त सार्वजनिक जग्गा उपलब्ध नहुनु र अधिकांश जग्गा गुठीअन्तर्गत रहेकाले आवश्यक जग्गा प्राप्त गर्न कठिनाइ भएको हो।
“हामीले आफ्नो पालिकाभित्र जग्गा प्राप्तिका लागि धेरै प्रयास गर्यौँ। नगरभित्र अधिकांश जग्गा गुठीको रहेकाले केन्द्रीय गुठीसँग माग गर्दा पनि प्राप्त भएन,” घिमिरेले भने।
डम्पिङ साइटमा फोहोर विसर्जन मात्रै नभई प्रशोधनसमेत गर्नुपर्ने भएकाले ठूलो क्षेत्रफल आवश्यक पर्ने उनको भनाइ छ।
सरसफाइमा खर्च बढ्दै, समाधान भने टाढै
उपमहानगरपालिकाका लेखा अधिकृत खगेन्द्र राईका अनुसार गत वर्ष नगरको सरसफाइमा करिब ९० लाख रुपैयाँ खर्च भएको थियो। चाडपर्वका समयमा थप फोहोर उत्पादन हुने भएकाले वडाहरूलाई अतिरिक्त बजेटसमेत उपलब्ध गराउने गरिएको छ।
तर नियमित बजेट खर्च भइरहे पनि स्थायी डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनको समस्या दोहोरिने गरेको छ।
जनकपुर–९ का किराना व्यवसायी रमेश झा भने नगरभित्र रहेका गुठीका जग्गा उपयोग गर्ने विकल्पमा उपमहानगरपालिकाले पहल गर्नुपर्ने बताउँछन्।
उनका अनुसार वर्षौँदेखि समस्या रहँदा पनि दीर्घकालीन समाधानका लागि ठोस पहल हुन सकेको छैन।
सामान्य फोहोरसँगै अस्पतालको फोहोर
जनकपुरको फोहोर व्यवस्थापनमा अर्को गम्भीर पक्ष पनि देखिएको छ। निजी अस्पताल, क्लिनिक तथा अन्य स्वास्थ्य संस्थाबाट निस्कने संक्रमणजन्य फोहोरसमेत कतिपय अवस्थामा सामान्य फोहोरसँगै मिसिने गरेको स्थानीयको भनाइ छ।
सामान्य घरेलु फोहोर र स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर एउटै ठाउँमा मिसिँदा स्वास्थ्य तथा वातावरणमा दीर्घकालीन असर पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
फोहोर वर्गीकरणको अभ्याससमेत प्रभावकारी रूपमा हुन नसकेको स्थानीयको गुनासो छ।
जनकपुरधाममा अहिलेको अवस्था हेर्दा समस्या फोहोर उठाउनेभन्दा पनि उठाइसकेपछि त्यसको सुरक्षित र दीर्घकालीन व्यवस्थापन गर्ने स्थानको अभाव हो। स्थायी डम्पिङ साइट नबन्दासम्म भाडाको जग्गा खोज्ने, केही समय फोहोर व्यवस्थापन गर्ने र फेरि नयाँ ठाउँ खोज्ने चक्र दोहोरिने देखिन्छ।




.gif)





