काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् ।मंगलबार उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे ।हालैको विनाशकारी बाढीका कठिन घडीमा भारत सरकारबाट प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले विपद् प्रभावित भारतीय नागरिक तथा पर्यटकका परिवारजनप्रति गहिरो सहानुभूति र हार्दिक समवेदना प्रकट गरे ।
राजदूत श्रीवास्तवको कार्यकालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारतको सहयोग, दीर्घकालीन विद्युत् व्यापार सम्झौता, द्विपक्षीय संयन्त्रहरूको सक्रियता तथा सहकार्यको पनि उपराष्ट्रपति यादवले प्रशंसा गरे ।नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन श्रीवास्तवले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यादवले उनको सुस्वास्थ्य र उज्ज्वल भविष्यका लागि शुभकामना दिए ।राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप घनिष्ठ बनेको उल्लेख गर्दै नेपाल र नेपालीको सम्झना सदैव रहने बताए ।




.gif)



