काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई लिएर सामाजिक सञ्जालमा अहिले बहस चलेको छ । बहसको केन्द्रमा सम्बोधनको विषयवस्तु भन्दा अंग्रेजी भाषा, उच्चारण, प्रस्तुति र टेलिप्रम्प्टरको प्रयोग बढी देखिएको छ ।
केहीले प्रधानमन्त्री शाहको अंग्रेजी प्रस्तुति र अभिव्यक्तिको प्रशंसा गरेका छन् भने केहीले टेलिप्रम्प्टरमा तयार भाषण पढेर सम्बोधन गरेको भन्दै आलोचना गरेका छन् । तर अन्तर्राष्ट्रिय मञ्चमा हुने उच्चस्तरीय सम्बोधनको मूल्याङ्कन केवल वक्ताले भाषण कसरी प्रस्तुत गरे भन्ने आधारमा मात्र गर्ने कि उनले आफ्नो देशका प्राथमिकता र सरोकार कति प्रभावकारी रूपमा उठाए भन्ने आधारमा गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
टेलिप्रम्प्टर अन्तर्राष्ट्रिय सम्बोधनमा असामान्य उपकरण होइन । तयार गरिएको मन्तव्यलाई सही, व्यवस्थित र समयसीमाभित्र प्रस्तुत गर्न यसले वक्तालाई सहयोग गर्छ । त्यसैले टेलिप्रम्प्टरको प्रयोग आफैंमा सम्बोधनको विषयवस्तुको गुणस्तर मापन गर्ने आधार बन्न सक्दैन ।
नेपालको मुद्दा के थियो?
नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने प्रमुख विषयमध्ये जलवायु परिवर्तन र जलवायु न्याय महत्वपूर्ण छन् ।
हिमाली मुलुकका रूपमा नेपाल जलवायु परिवर्तनका प्रभावप्रति संवेदनशील छ । तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, हिमाली पारिस्थितिक प्रणालीमा परिवर्तन तथा बाढी, पहिरो र अन्य जलवायुजन्य विपद्को जोखिमले नेपालको वातावरणसँगै कृषि, पूर्वाधार, खाद्य सुरक्षा र जनजीविकामा समेत असर पार्न सक्छ ।
जलवायु परिवर्तनमा नेपालको योगदान विश्वका ठूला उत्सर्जक मुलुकको तुलनामा न्यून भए पनि यसको प्रभावबाट नेपालजस्ता जोखिममा रहेका देश प्रभावित भइरहेका छन् । त्यसैले नेपालको जलवायु कूटनीतिमा जलवायु अनुकूलन, जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा क्षति र नोक्सानीको सम्बोधन महत्वपूर्ण विषय बन्दै आएका छन् ।
हिमालयको मुद्दा नेपालमा मात्रै सीमित छैन
हिमालयमा हुने वातावरणीय परिवर्तनको प्रभाव नेपालमा मात्र सीमित हुँदैन । हिमाली क्षेत्रबाट उत्पन्न हुने नदी प्रणाली, पानीका स्रोत तथा पारिस्थितिक प्रणालीसँग करोडौँ मानिसको जीवन र अर्थतन्त्र जोडिएको छ ।
त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रका जोखिमबारे नेपालको आवाज उठ्नु नेपालको राष्ट्रिय सरोकारसँगै व्यापक क्षेत्रीय र विश्वव्यापी जलवायु बहससँग पनि जोडिन्छ ।
प्रस्तुति महत्वपूर्ण, तर सन्देश अझ महत्वपूर्ण
अन्तर्राष्ट्रिय सम्बोधनमा भाषा, उच्चारण, प्रस्तुति र प्रवाहको आफ्नै महत्व हुन्छ । प्रभावकारी प्रस्तुति भएमा वक्ताले उठाएको विषयलाई ध्यानाकर्षण गराउन सहज हुन्छ । तर प्रस्तुति सन्देश पुग्ने माध्यम होस स्वयं सन्देश होइन ।
यसकारण प्रधानमन्त्रीको सम्बोधनबारे बहस गर्दा ‘टेलिप्रम्प्टर प्रयोग भयो कि भएनरु’ भन्ने प्रश्नसँगै ‘नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष के मुद्दा उठायोरु’ भन्ने प्रश्न पनि केन्द्रमा रहन आवश्यक छ ।
नेपालका जलवायु जोखिम, हिमालयको संरक्षण, जलवायु न्याय, अनुकूलनका लागि वित्तीय तथा प्राविधिक सहयोग र जोखिममा रहेका समुदायको संरक्षणजस्ता विषय अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कसरी रूपान्तरण हुन्छन् भन्ने कुरा अझ महत्वपूर्ण पक्ष हो ।
अन्ततः अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको मूल्याङ्कन गर्दा वक्ताले भाषण कण्ठस्थ गरेर बोले वा टेलिप्रम्प्टरको सहारा लिए भन्नेभन्दा नेपालका प्राथमिकता कति स्पष्ट रूपमा प्रस्तुत भए, अन्तर्राष्ट्रिय समुदायको ध्यान कति आकर्षित भयो र ती मुद्दाले व्यवहारिक अन्तर्राष्ट्रिय सहकार्यमा कस्तो स्थान पाए भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
टेलिप्रम्प्टरले भाषण पढ्न सहयोग गर्न सक्छस तर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको वास्तविक महत्व भने उठाइएका मुद्दा र तिनको प्रभावकारी पैरवीबाट निर्धारण हुन्छ।




.gif)





