images

२०८३ आश्विन १५ गते

images
images
images
  • अन्य
  • भोटेकोशी बाढीको एक महिना, ४ खर्बभन्दा...

भोटेकोशी बाढीको एक महिना, ४ खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब आवश्यक

भोटेकोशी बाढीको एक महिना, ४ खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब आवश्यक

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ । गत भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ ।

    images
    images

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७९५ जनाको उद्धार गरिएको छ ।

    विपत्पछिको खोज, उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २० हजार ४७७ सुरक्षाकर्मी परिचालन भएका छन् ।

    images
    images

    बाढीबाट भएको कुल क्षति तथा नोक्सानी ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको प्रारम्भिक आँकलन गरिएको छ । विपत्को द्रुत क्षति तथा आवश्यकता आँकलन (आरडिएनए) प्रतिवेदनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको छ ।

    हजारौँ घर तथा पूर्वाधार प्रभावित

    बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन् । यस्तै, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।

    जलविद्युत् र ऊर्जा क्षेत्रमा पनि ठूलो क्षति भएको छ । ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना तथा २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन् ।

    सडक तथा पुलतर्फ ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा पुल बगेका छन् । त्यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ ।

    बाढीबाट करिब ८ हजार ३०० घरपरिवारका ४० हजार मानिस प्रभावित भएको तथ्यांक छ ।

    स्थायी पुनःस्थापनामा चुनौती

    बाढीले घर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अझै पुरानै घरमा फर्किन सकेका छैनन् । पूर्णरूपमा घर बगेका वा बस्न अयोग्य भएका परिवार अहिले पनि अस्थायी टेन्ट तथा आश्रयस्थलमा निर्भर छन् ।

    सरकारले प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा त्रिपालमा राख्नुको सट्टा भाडाको घरमा स्थानान्तरण गर्ने नीति अघि सारेको छ । स्थानीय तहले बस्नयोग्य घर नभएका परिवारका लागि कोठा भाडामा लिने व्यवस्था गरिरहेका छन् ।

    स्थायी आवास निर्माण नभएसम्म संघीय सरकारले आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । चार जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ थप उपलब्ध गराउने व्यवस्था छ।

    तर, सडक तथा पुल पुनर्निर्माण, पूर्णरूपमा बगाइएका बस्तीको पुनःव्यवस्थापन र हजारौँ परिवारको स्थायी आवासको टुंगो लगाउन अझै समय लाग्ने देखिएको छ ।

    अस्थायी शिविरमा वर्षाको थप सास्ती

    भोटेकोशी र त्रिशूली नदीको बाढीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविरमा बसिरहेका परिवारलाई पछिल्लो अविरल वर्षाले थप समस्यामा पारेको छ ।

    त्रिपालभित्र पानी चुहिने, भुइँ हिलो हुने तथा ओछ्यान र लुगाकपडा भिज्ने समस्या देखिएको छ । विशेषगरी बालबालिका, सुत्केरी तथा वृद्धवृद्धालाई चिसोका कारण स्वास्थ्य समस्या बढ्न सक्ने जोखिम छ ।

    खुला ठाउँमा दाउरा बालेर खाना पकाउनसमेत समस्या भएपछि कतिपय विस्थापित परिवारले आसपासका बस्तीमा कोठा खोज्न थालेका छन् ।

    देशभर वर्षाको प्रभाव

    बुधबार साँझदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण अधिकांश क्षेत्रमा वर्षा भएको हो ।

    वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढेको छ भने विभिन्न स्थानमा पहिरो जाँदा सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । काठमाडौंसँग जोडिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ समेत बाढी तथा पहिरोबाट प्रभावित भएका छन् ।

    भारी वर्षाका कारण शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्णरूपमा रोकिएको थियो भने विभिन्न जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो ।

    पश्चिम नेपालमा वर्षाको प्रभाव बढी

    शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी देखिएको थियो ।

    कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । पर्वतको मोदीवेणीमा कालीगण्डकीको पानीको सतह चेतावनी तहभन्दा माथि पुगेको थियो ।

    नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलमा पानी पसेपछि सशस्त्र प्रहरीले २९ जनाको उद्धार गरेको छ । बाढीबाट सो क्षेत्रमा १६५ घर प्रभावित भएका छन् ।

    यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् ।

    पहाडी जिल्लामा सवारी आवागमन रोक

    लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । डडेल्धुरा, बैतडी र दार्चुला प्रशासनले मौसम तथा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाएका हुन् ।

    पूर्वी नेपाल र काठमाडौंमा मौसम सुधार

    लगातार वर्षा भएको पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र तेह्रथुमलगायत जिल्लामा शनिबारदेखि वर्षा कम भएको छ । मौसममा सुधार आएपछि बजार तथा सडकमा चहलपहलसमेत बढ्न थालेको छ ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहान घामसमेत देखिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भूभागमा वर्षाको प्रभाव रहे पनि क्रमशः मौसम सुधार हुँदै जाने अनुमान गरिएको छ ।

    धान नकाट्न किसानलाई आग्रह

    जल तथा मौसम विज्ञान विभागले मौसममा पूर्ण सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।

    मौसमविद्हरूले अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम कायम रहेकाले हतारमा धान काट्दा थप क्षति हुनसक्ने बताएका छन् । मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन र नदी तथा खोलानजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend