काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण मौसम प्रतिकुल हुँदा हवाई उडानमा अवरोध सिर्जना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा जाने विमानको उडान अवरुद्ध तथा ढिलाइ भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दुर्गम क्षेत्र (स्लट रुट) तथा माउन्टेन कुनै पनि फ्लाइटहरू आज हुन सकेका छैनन् । कतिपय उडान नै रद्द गरिएको छ भने कतिपय रद्दको घोषणा नभए पनि उडान हुन सकिरहेको छैन ।
यति एयरलाइन्सको माउन्टेन फ्लाइट, सीता एयरको लुक्ला फ्लाइट, बुद्ध एयर र श्री एयरलाइन्सको माउन्टेन फ्लाइट र नेपाल एयरलाइन्सको भोजपुर उडान आव रद्द भएको छ । बाँकी सबै दुर्गम पहाडी उडान र माउन्टेन फ्लाइट ढिलाइ भइरहेका छन् । काठमाडौँबाट ट्रंक रुटका लागि हुने उडान भने अहिले केही ढिला भए पनि सुचारु भए पनि ढिलाइ भइरहेका छन् । शुक्रबार बिहानदेखि हालसम्म आन्तरिकतर्फ विभिन्न रुटहरूमा जम्मा १४ वटा उडान र २ वटा अवतरण भएको छ । पोखरा, भरतपुर जस्ता विमानस्थलमा हुने उडानहरू मौसमका कारण ढिलाइ भइरहेको विमानस्थलले जनाएको छ । त्यस्तै, लुक्ला, फाप्लुमा समेत त्यही अवस्था छ ।
अन्तर्राष्ट्रिय उडानहरूमा भने मौसमका कारण अहिलेसम्म कुनै पनि अवरोध देखिएको छैन । बिहानदेखि हालसम्म १० वटा अवतरण र ९ वटा उडान सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । आन्तरिक उडानमा ढिलाइ हुँदा आन्तरिक टर्मिनलहरुमा यात्रुको भिड लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि आइतबारसम्म देशभर अबिरल वर्षाको पूर्वानुमान गरेको छ । अहिले काठमाडौंसँग पूर्व तथा पश्चिम जोडिने मुख्य राजमार्गअरु अवरुद्ध छन् । पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडक अहिले बन्द छ । हेटौंडा जोड्ने कान्ति लोकपथ र बनेपा बर्दिवासको बीपी राजमार्ग समेत अहिले पूर्ण रुपमा ठप्प छ ।




.gif)





