काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गर्ने भएको छ । एअरलाइन्स्ले आगामी सोमबार अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो ।उडान पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्ने जनाएको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी सहर सांघाईबीच हवाई सम्पर्क पुनःस्थापित हुनेछ ।
एअरलाइन्स्का अनुसार प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन हुनेछ । काठमाडौँबाट सांघाईका लागि हरेक सोमबार र शुक्रबार उडान हुनेछ भने सांघाईबाट काठमाडौँ फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ ।यात्रुको माग र उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने एअरलाइन्स्ले जनाएको छ ।एअरलाइन्स्ले काठमाडौँ–सांघाई सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्कलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ । मुख्य पर्यटन सिजनको सुरुवातसँगै उडान पुनः सञ्चालन हुन लागेकाले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुग्ने एअरलाइन्स्को भनाइ छ ।हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालनले नेपाल र चीनबीचको सम्बन्ध, पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुग्ने बताए ।
उनका अनुसार एअरलाइन्स्ले चीनमा नयाँ गन्तव्य खोज्दै नियमित उडान विस्तार गर्दै आएको छ । सांघाई उडानमार्फत यात्रुलाई सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए ।काठमाडौँ–सांघाई उडानका लागि यात्रुले हिमालय एअरलाइन्स्का टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् ।हिमालय एअरलाइन्स् नेपाल–चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । एअरलाइन्स्सँग हाल चारवटा विमान रहेका छन् । तीनवटा एयरबस ३२०–२१४ र एउटा एयरबस ३१९–११५ विमानबाट एअरलाइन्स्ले मध्यपूर्व, दक्षिण एसिया र चीनका विभिन्न गन्तव्यमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ ।




.gif)





