धनगढी । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार अभियानलाई निरन्तरता दिँदै धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले २०८३ साल असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाअन्तर्गत धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखासँगै बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत हालको स्थानबाट स्थानान्तरण गरी सोही भवनबाट सञ्चालन गर्ने जनाएको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। बैंकले आफ्नै भवनबाट बैंकिङ सेवा विस्तार गरेसँगै धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई थप सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध हुने अपेक्षा गरेको छ।
नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका थिए।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
क्याम्पस चोकमा बैंकको आफ्नै भवनबाट शाखा कार्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप विस्तार हुने बैंकले विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार शाखा विस्तारले स्थानीय उद्योग, व्यवसाय तथा अन्य आर्थिक गतिविधिलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।
एभरेष्ट बैंकले शाखा सञ्जाल विस्तारमार्फत विभिन्न क्षेत्रका ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। धनगढीमा नयाँ भवन तथा शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको बैंकको भनाइ छ।




.gif)





