images

२०८३ आश्विन १५ गते

images
images
images

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल तथा रेष्टुराँमा छुट सुविधा दिइएको हो ।होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । ‘छुट योेजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ’, उनले भने, ‘छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।’

    images
    images

    बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उनको भनाइ छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुनसक्ने अध्यक्ष सुवेदीले बताए । ‘फ्लाई दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउनु होटल व्यवसायीको पनि दायित्व सम्झेर छुट योजना ल्याइएको हो’, उनले भने ।रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु र पर्यटकलाई छुटको सुविधा दिइने बताए । ‘तीन महिनासम्म छुट योजना लागू हुन्छ, पछि परिस्थिति हेरेर थप्न पनि सकिन्छ’, उनले भने, ‘पोखराबाट हुन लागेको फ्लाई दुबईको उडानलाई दिगो र सफल बनाउन सबैको हातेमालो चाहिन्छ ।’

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका अ पर्यटन व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्ष्य गरेर छुट योजना ल्याउन लागेको बताए । ‘एकीकृत रुपमा छुट प्याकेज बनाउने र त्यसलाई एप्समार्फत सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ’, उनले भने, ‘पोखरा–दुबई हवाई उडानलाई दिगो र प्रभावकारी बनाउन पोखरेली पर्यटन व्यवसायी एकजुट छौँ ।’पोखरा पर्यटन परिषद्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले पनि यसमा सक्रियता बढाएका छन् । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान गर्न लागेको हो ।दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज बुधबार साँझ साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

    images
    images

    फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको सूचना अधिकारी रावतले बताए ।विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने जनाइएको छ ।एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ । पोखरादेखि दुबईहुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन् । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् ।

    पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानबाट मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिनेछ । यस उडानलाई दिगो रुपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ ।सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend