काठमाडौं । प्राविधिक समस्या देखिएपछि सेयर कारोबार रोकिएको घटनाप्रति नेपाल धितोपत्र बोर्डले चासो देखाउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
बोर्डले नेप्सेलाई ७२ वटा धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को सर्भर रहेको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याबारे विस्तृत अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार प्राविधिक समस्या उत्पन्न हुनुको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन तयार गर्न भनिएको छ। बोर्डले उक्त प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिएको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीले प्रयोग गर्ने टीएमएसको सर्भर रहेको डेटा सेन्टरमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास गरिए पनि तत्काल समाधान हुन नसकेपछि सेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ।
सेयर कारोबार प्रणालीमा आएको अवरोधका कारण लगानीकर्ता तथा कारोबार सदस्यहरू प्रभावित भएपछि बोर्डले घटनालाई गम्भीरतापूर्वक लिएको हो। बोर्डले प्राविधिक पूर्वाधारको विश्वसनीयता, डेटा सेन्टरको सञ्चालन तथा कारोबार प्रणालीको निरन्तरतासँग सम्बन्धित पक्षको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत परिचालन गरेको छ। उक्त टोलीले घटनाको प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे आवश्यक निरीक्षण तथा अध्ययन गर्ने जनाइएको छ।
पुँजी बजारमा कारोबार प्रणालीको निरन्तरता र प्राविधिक पूर्वाधारको स्थायित्व महत्वपूर्ण मानिन्छ। यस किसिमका प्राविधिक समस्या दोहोरिन नदिन प्रणालीको क्षमता, डेटा सेन्टरको व्यवस्थापन तथा आकस्मिक अवस्थामा वैकल्पिक व्यवस्था मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ।
बोर्डले नेप्सेबाट प्राप्त हुने प्रतिवेदनका आधारमा घटनाको कारण तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे थप आवश्यक कदम चाल्ने जनाएको छ।




.gif)





