जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चिकित्सक माथि हातपात गरेको आरोपमा धनुषा, औरही गाउँपालिका, वडा नम्बर २ बस्ने वर्ष २० का विजय मुखिया र जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २६ की सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले आरोपित दुवै जनालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) बमोजिमको कसुर अन्तर्गत अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजतलास जारी रहेको बताए । उनका अनुसार यो ऐन अन्तर्गत कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा तीन लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जानकारी दिए ।गएको बिहीबार प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ्ग सेन्टरमा प्रसूतिका लागि आएकी महिलाका आफन्तहरूले शल्यक्रियामा लापरबाही गरेको आरोप लगाउँदै ड्युटीमा रहेका चिकित्सक सरोज साहलाई हातपात गर्दै कुटपिट गरेका थिए । कुटपिट भएपछि चिकित्सकहरू आन्दोलित भएका थिए । चिकित्सकहरूले उपचारको क्रममा लापरबाही भएको भए अनुसन्धान गर्ने निकायमा उजुरी दिनुको साटो अस्पतालमा खटिएका स्वास्थ्यकर्मी माथि हातपात तथा कुटपिट हुनुलाई गम्भीर रूपमा लिएको भन्दै आरोपितलाई कारबाहीको माग गरेका थिए । यो अस्पतालमा बारम्बार यस्ता घटना घट्दै आएको छ ।




.gif)



