काठमाडौँ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीलंकाका करिब १५० जना प्रतिष्ठित ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन्। रुप्से होलिडेजको विशेष पहल र व्यवस्थापनमा उनीहरू काठमाडौं आएका हुन्। श्रीलंकाका पर्यटन क्षेत्रका दुई महत्वपूर्ण संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (टासल) र आयटा एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (आयाससल) को वार्षिक साधारणसभा नेपालमा आयोजना गराउन रुप्से होलिडेजले मुख्य भूमिका खेलेको छ।
काठमाडौंको डुसित प्रिन्सेस होटलमा सेप्टेम्बर १७ देखि २० सम्म चलेको कार्यक्रममा टासलको ५१औँ र आयाससलको ३८औँ साधारणसभा सम्पन्न भएको छ। टासलको आधिकारिक विवरणले समेत काठमाडौंलाई दुवै संस्थाको यस वर्षको गन्तव्यका रूपमा उल्लेख गरेको छ।यी प्रतिष्ठित संस्थाहरूले आफ्नो साधारणसभाका लागि हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य छनोट गर्दै आएका छन्। सन् २०२५ मा टासलको ५०औँ र आयाससलको ३७औँ साधारणसभा मलेसिया र सिंगापुर क्षेत्रमा पर्ने जेन्टिङ ड्रिम क्रुजमा आयोजना भएको थियो। उक्त कार्यक्रममा पनि करिब १५० जना सहभागी थिए। यसअघि बेइजिङ, टोकियो, इस्तानबुल, बैंकक, जकार्ता, बाकु र मेलबर्नजस्ता सहरमा साधारणसभा गरिसकेका यी संस्थाले यसपटक काठमाडौंलाई रोज्नु नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रवर्द्धनको अवसर बनेको छ। श्रीलंकाका प्रभावशाली पर्यटन व्यवसायीलाई एकैपटक नेपाल ल्याउन रुप्से होलिडेजले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।
नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय विभिन्न चुनौती सामना गरिरहेको छ। यही बेला अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश पुर्याउने उद्देश्यले रुप्से होलिडेजले यस कार्यक्रमलाई साधारणसभामा मात्र सीमित राखेको छैन। यसलाई पर्यटनप्रतिको विश्वास जगाउने अभियानका रूपमा अगाडि बढाइएको छ। कार्यक्रमभरि एउटा साझा सन्देश विशेष रूपमा उठाइएको छ।‘नेपाल सुरक्षित छ,’ आयोजकले सन्देश दिएको छ, ‘नेपाल पर्यटकलाई स्वागत गर्न तयार छ।’ अन्तर्राष्ट्रिय पर्यटकले निर्धक्क भएर नेपाल भ्रमण गर्न सक्छन् भन्ने सन्देश श्रीलंकाका पर्यटन व्यवसायीमार्फत त्यहाँको बजारसम्म पुर्याउनु यो कार्यक्रमको मुख्य लक्ष्य हो।साधारणसभा सम्पन्न भएपछि आयोजित विशेष गाला डिनर कार्यक्रममा नेपाल र श्रीलंकाका पर्यटन तथा उड्डयन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकन एयरलाइन्सका कमर्सियल डाइरेक्टर, नाट्टाका अध्यक्ष भरतजंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका सन्तोष र श्रीलंकन एयरलाइन्सका जीएसए सञ्चालक जय देवानलगायत उपस्थित थिए।
सहभागी प्रतिनिधिहरूको साझा सन्देश पनि नेपाल सुरक्षित छ र यसले पर्यटकलाई बोलाइरहेको छ भन्ने नै थियो। नेपालको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक र यथार्थ सन्देश प्रवाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न पर्यटन क्षेत्र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।यस कार्यक्रमको पहल गर्ने रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुली नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का वर्तमान सचिवसमेत हुन्। सन् २०२६ को निर्वाचनबाट नाट्टामा पाण्डे अध्यक्ष, देवकोटा महासचिव र पराजुली सचिवमा निर्वाचित भएका हुन्। पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला सरकार वा पर्यटन बोर्डको प्रयासले मात्र नपुग्ने पराजुलीले बताए। ‘निजी क्षेत्र र पर्यटन व्यवसायी आफैँले अन्तर्राष्ट्रिय बजारमा जानुपर्छ,’ उनले भने, ‘विदेशी व्यवसायीलाई नेपाल ल्याएर विश्वास निर्माण गर्नुपर्ने आवश्यकता छ।’ १५० जना अग्रणी श्रीलंकाली ट्राभल एजेन्टलाई नेपालमा ल्याउनुको अर्थ एउटा साधारणसभा आयोजना गर्नु मात्र नभएको उनले प्रस्ट पारे।
‘यी व्यवसायीहरू स्वयं आफ्ना बजारमा हजारौँ यात्रुलाई गन्तव्य सिफारिस गर्ने व्यक्ति हुन्,’ पराजुलीले थपे, ‘उनीहरूले नेपाल प्रत्यक्ष अनुभव गरेर फर्कनु आफैँमा प्रभावकारी गन्तव्य प्रवर्द्धन हो।’टासल श्रीलंकाका ट्राभल एजेन्टहरूको प्रमुख व्यावसायिक संस्था हो। यस्तै आयाससलले आयटा मान्यता प्राप्त एजेन्टहरूको प्रतिनिधित्व गर्छ। आयाससलको नेतृत्वमा लामो समयदेखि श्रीलंकाको ट्राभल, एयरलाइन तथा पर्यटन उद्योगमा सक्रिय व्यवसायीहरू छन्। त्यसैले यी संस्थासँग आबद्ध करिब १५० जना पर्यटन व्यवसायीको नेपाल भ्रमणलाई सामान्य समूह भ्रमणभन्दा फरक रूपमा हेरिएको छ। उनीहरू नेपालका पर्यटन दूतका रूपमा आफ्नो बजारमा नेपालबारे प्रत्यक्ष अनुभव सुनाउन र नेपालका प्याकेज बिक्री गर्न सक्ने समूह हुन्। यो कार्यक्रममार्फत दुई देशबीच पर्यटन सञ्जाल विस्तार हुने र भविष्यमा श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास रुप्से होलिडेजले लिएको छ। रुप्से होलिडेजको यो अग्रसरताले नेपाल सुरक्षित मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटन समुदायलाई स्वागत गर्न पूर्ण रूपमा तयार छ भन्ने सन्देश विश्व पर्यटन बजारमा पुग्ने अपेक्षा गरिएको छ।




.gif)





