चितवन । भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्य भएको छ ।पश्चिम चितवनका बासिन्दालाई सामान्य स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि भरतपुर अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सेवा विस्तार गर्न लागिएको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।उनका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अघि बढाएर अस्पताललाई भोगचलनका लागि दिने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यवाहक प्रमुख अधिकारीका अनुसार महानगरपालिकाले पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि रु एक करोड विनियोजन गरेको छ । उक्त रकमबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गरिनेछ भने भवन मर्मत गरी बिरामी जाँचकक्ष र प्रशासनिक काउन्टर व्यवस्थापन गरिनेछ । सुरुआती पूर्वाधार तयार भएपछि सेवाको पूर्ण सञ्चालनको जिम्मेवारी भरतपुर अस्पतालले लिनेछ ।शारदानगर स्वास्थ्यचौकीबाट बालबालिका तथा महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, स्वास्थ्य बिमा सेवा र प्रयोगशाला सेवासमेत उपलब्ध गराइनेछ । शल्यक्रिया वा भर्ना आवश्यक पर्ने बिरामीलाई अन्यत्र रेफर नगरी भरतपुर अस्पतालमा थप उपचारका लागि पठाइनेछ ।भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बढ्दो भीडभाड कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बताए ।उनका अनुसार सुरुआती चरणमा विशेषज्ञ सेवा सञ्चालन गरिनेछ । प्रयोगशाला र फार्मेसी सेवासमेत उपलब्ध गराइनेछ । ‘भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौँ, त्यही सेवा त्यहाँबाट पनि पाइनेछ,’ उनले भने ।
सुरुमा बहिरङ्ग (ओपिडी) सेवाबाट सञ्चालन गरिनेछ । त्यसपछि आवश्यकता र सञ्चालन क्षमताका आधारमा आकस्मिक, अन्तरङ्ग र शल्यक्रिया सेवासम्म क्रमशः विस्तार गर्दै दीर्घकालमा ठूलो अस्पतालमा रूपान्तरण गर्ने योजना रहेको डा. बगालेले बताए । उनका अनुसार सरकारी अस्पतालले पहिलोपटक यस तहको विशेषज्ञ सेवा दिन लागेको हो ।सेवा सुरु गर्नुअघि न्यूनतम भौतिक पूर्वाधार तयार गर्नुपर्नेछ । सरसफाइ, पहुँचमार्ग, प्रतीक्षालयलगायत आवश्यक संरचना महानगरपालिकाले तयार गरेपछि सेवा सञ्चालन गरिनेछ ।




.gif)





