काठमाडौं । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
निस्ट परिवारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएको छ। प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार, राहत वितरण र सुरक्षित पुनर्स्थापनाको कामलाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ।
निस्टका विभिन्न संस्थाको सहभागिता
विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम निस्ट परिवारअन्तर्गतका विभिन्न शैक्षिक तथा सामाजिक संस्थाको तर्फबाट संकलन गरिएको हो।
निस्ट परिवारका अनुसार नेसनल स्कुल अफ साइन्सेज, लैनचौर बनेपा निस्ट भक्तपुर निस्ट ललितपुर निस्ट निस्ट हायर एजुकेसन र निस्ट फाउन्डेसनको तर्फबाट सहयोग गरिएको हो।
यसमा निस्ट फाउन्डेसनका अध्यक्ष तथा नेसनल स्कुल अफ साइन्सेजका संस्थापक प्राचार्यको व्यक्तिगत योगदानसमेत समावेश रहेको जनाइएको छ।
विपद्मा सामूहिक सहकार्य आवश्यक
निस्ट परिवारले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्य मात्र नभई विभिन्न संघसंस्था, निजी क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
विपद्का बेला पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको सुरक्षित पुनर्स्थापना र दीर्घकालीन जीवनयापनका लागि समेत सहकार्य आवश्यक रहेको निस्ट परिवारको भनाइ छ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको कठिन परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाउँदै निस्ट परिवारले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेको छ।
निस्ट परिवारले विपद्को समयमा मानवीय संवेदना र सामाजिक एकतालाई प्राथमिकता दिँदै प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको जनाएको छ।




.gif)





