अमेरिका । नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा बेपत्ताहरूको सकुशलताको कामना गर्दै अमेरिकाको डलासमा गरिएको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमले नेपालको जलवायु न्यायको आवाज संयुक्त राष्ट्रसंघ मुख्यालयसम्म पुर्याउने भएको छ ।डलासको रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमीहरूको सहभागिता थियो । कार्यक्रममा दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बेपत्ताहरूको सकुशलताको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।
नेपालले विश्वव्यापी जलवायु संकटमा अत्यन्त न्यून योगदान गरे पनि त्यसको गम्भीर मानवीय तथा आर्थिक असर भोगिरहेको आयोजकले बताएका छन् । जलवायु न्याय, हानि तथा क्षति, अनुकूलन र उत्थानशीलताका लागि विश्व समुदायको ठोस साथ आवश्यक रहेको उनीहरूको भनाइ छ ।डलासबाट सुरु भएको अभियानलाई निरन्तरता दिँदै भिजिट नेपालले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरेको छ । मौन प्रदर्शनमार्फत नेपालको जलवायु जोखिम तथा विपत्तिपछिको पुनर्निर्माणको आवश्यकताबारे विश्व समुदायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।




.gif)



