काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीलाई सवारी साधनको बिचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ ।आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्कीले राजधानीको बढ्दो जनसङ्ख्या, सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबिच सहकार्य आवश्यक रहेको बताए ।उनले फोहोर मैला व्यवस्थापनमा उत्पादनस्थल देखि अन्तिम व्यवस्थापन स्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताए । नेपाल प्रहरी र स्थानीय तहबिच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताए ।
स्थानीय तहले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहयोग गर्नुपर्ने उनले बताए ।यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उनको भनाइ छ । कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको प्रशंसा गरे । राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र सहरी व्यवस्थापनको स्तरसमेत झल्काउने बताए ।उनले भने, ‘७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वय गर्न पत्राचार भइरहेको छ । यसै सन्दर्भमा हामीले पनि सुरक्षा संरचनालाई प्राथमिकता दिँदै सुरक्षाकर्मीको आवास, यातायात तथा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ ।’ आगामी दिनमा महानगर र नेपाल प्रहरीले थप योजनाका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिँदै कार्कीले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।




.gif)





