काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी) को भवनलाई बहुतले पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ।काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरलाई अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन्। उनका अनुसार एनएसी भवनमा बहुमन्जिला पार्किङ बनेपछि विशेषगरी काठमाडौंको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ। महानगरले काठमाडौंभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे समेत अध्ययन गरिरहेको जानकारी दिइन्। विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले बताइन्।
उनले भनिन्, ‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन। हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले न्युरोडस्थित एनएसीको भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरेको छ। एनएसीमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा विशेषगरी कोर एरियाको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ। त्यसैगरी, काठमाडौँभरि पार्किङ व्यवस्थापनका विषयमा अध्ययन भइरहेको छ। केही समयमै विज्ञबाट तयार हुने अध्ययन प्रतिवेदन प्राप्त हुनेछ। प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगरपालिका अघि बढ्नेछ।’डंगोलले काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन्। बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरले अब थप व्यवस्थित र प्रणालीगत ढङ्गले काम गर्ने उनको भनाइ छ।




.gif)



