काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्मचारीको योगदानबाट जम्मा भएको रकमलाई सुरक्षित र प्रतिफलमुखी ढंगले परिचालन गर्न सरकार सचेत रहेको उनले बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विगतका केही लगानीबाट पाठ सिकेर आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित निर्णय हुन नदिने स्पष्ट पारे।
उनले विगतमा कोषको रकमबाट विमान खरिदका लागि गरिएको लगानी अपेक्षित रूपमा फलदायी हुन नसकेको उदाहरण प्रस्तुत गर्दै कोषको रकम लगानी गर्दा व्यावसायिकता, प्रतिफल र जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेका अनुसार कर्मचारी सञ्चय कोषमा हाल रु। ७०० अर्बभन्दा बढी रकम रहेको छ। उक्त रकमलाई निष्क्रिय रूपमा सञ्चित गरेर मात्र राख्नुको सट्टा उचित क्षेत्रमा लगानी गरी कर्मचारी तथा कोषका हितमा प्रतिफल प्राप्त हुने गरी परिचालन गर्नुपर्ने उनको भनाइ छ।
“लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य होइन,” मन्त्री वाग्लेले भने।
उनले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताका आधारमा छनोट गर्ने प्रक्रिया अपनाइएको जानकारी दिए। कोषको प्रशासक छनोटसमेत प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको उनले बताए।
विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना तथा महिला सहभागितालगायत विषयमा सांसदहरूले उठाएका प्रश्नलाई दफावार छलफलका क्रममा आवश्यक संशोधनमार्फत सम्बोधन गर्न सकिने अर्थमन्त्री वाग्लेले बताए।
यसैबीच, प्रतिनिधिसभाको शुक्रबारको बैठकले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री डा। वाग्लेले प्रस्तुत गरेको प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गरेका थिए।




.gif)





