काठमाडौं । कुनै समय मान्छेको चहलपहल हुने केरुङ नाका अहिले ढुंगै ढुंगाको थुप्रोमा परिणत भएको छ । हिमपहिरोपछि आएको बाढीले नाका बगाएर ध्वस्त भयो, अहिले त यो अस्तित्वविहीन भएको छ । झट्टा हेर्दा नाका अहिले ढुंगा, ग्राभेल र हिलोले भरिएको चन्द्रमाको कुनै अज्ञात सतहजस्तो देखिन्छ । उद्धारकर्मीहरू अहिले पनि यस क्षेत्रमा बेपत्ताहरूको तीव्र खोजीमा लागिरहेका छन् ।चीन र नेपालबीच आवतजावत गर्ने पर्यटक तथा व्यापारीका लागि यो सीमा नाका कुनै समय निकै व्यस्त केन्द्र थियो । नेपालतर्फ नदीपारि रहेको रसुवा नाका जाने वा त्यहाँबाट आउने क्रममा दैनिक सयौँ मानिस सामान्यतया यही बाटो भएर हिड्थे । तर अगस्ट २६ को बिहानले सबै कुरा बदलियो ।
हिमपहिरो र त्यसपछि आएको विनाशकारी बाढीको पहिलो प्रहारमा बाढीको ठूलो भेलले नाकालाई कुनै डरलाग्दो राक्षसले झैं निल्यो । त्यसपछि त्यही बाढी नेपालतर्फ विनाश मच्चाउँदै अघि बढ्यो । पानीको भेलले कतिपयलाई बगायो, कतिपय भने ज्यान जोगाउन सकिन्छ कि भनेर भागिरहेको हृदयविदारक दृश्य सीसीटीभीमा कैद देखिएको छ ।नाकामा अहिलेसम्म एक जना पनि जीवित व्यक्ति फेला परेका छैनन् । घटनाका बेला सीमा जाँच केन्द्रमा आफ्ना आफन्तहरू रहेको विश्वास गर्ने चीन तथा विश्वका विभिन्न स्थानका परिवारहरूका लागि यो ठाउँ अहिले आफ्ना प्रियजनबारे कुनै जानकारी पाउने आशाको केन्द्र बनेको छ । विपद् प्रभावित क्षेत्रमा प्रवेश गर्दा हावामा बाक्लो धुलो र कुहिरो भरिएको थियो । घटनास्थलमा उद्धारमा खटिएका थुप्रै सवारीसाधन थिए र अधिकारीहरू चारैतिर सवारीसाधनको आवतजावत व्यवस्थापन गरिरहेका थिए । पूर्ण रूपमा ध्वस्त भएको सडकलाई आवतजावत गर्न सकिने बनाउन त्यसमा ग्राभेल बिछ्याइएको थियो ।
भग्नावशेषको एउटा थुप्रोमाथि चिनियाँ झण्डा कठोर हावामा फहरिरहेको थियो । पाँचतले विशाल सीमा जाँच भवन त बाढीले बगाइसकेको थियो, भवनको जगका केही अवशेष मात्र बाँकी थिए । घटनास्थलमा सीएनएनसँग कुरा गर्दै उद्धारकर्मी झाङ सियाओजुनले भने, ‘पछि हामीले खन्न सुरु गरेपछि देख्न सक्ने भनेको बाँकी रहेको जग मात्र थियो,’ । ‘त्यसमाथिका सबै संरचना पहिरोले बगाएर लग्यो । यो दृश्य साँच्चै हृदयविदारक थियो । हाम्रा धेरै चिनियाँ साथीहरूले यस विपद्मा आफ्ना अमूल्य जीवन गुमाए,’ झाङले भने ।कुनै समय ट्राभल एजेन्सी, एउटा सुपरमार्केट र चीन तथा नेपाल जोड्ने पुल रहेको यस क्षेत्रको बाँकी भागमा पनि विनाशको कथा यो भन्दा फरक छैन । ती सबै संरचनालाई बाढीले बगाएर सम्म बनाएको छ । बाढीको साथमा आएको माटो, ढुंगा र पानीको लेदोमा पुरिएका छन् ।
नाकामा को–को प्रभावित भए भन्ने जानकारी बाहिर आउन ढिलो भएको छ । यो अवस्था नेपालको भन्दा फरक देखिन्छ । नेपालमा उद्धार गरिएका वा मृत्यु पुष्टि भएका मानिसहरूको संख्याबारे नियमित रूपमा जानकारी सार्वजनिक भइरहेको छ । करिब दुई दिनअघि चीनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, सीमा क्षेत्रमा चीनतर्फ ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५३१ जना बेपत्ता छन् । तिब्बतका स्थानीय अधिकारीहरूले यसै साता दिएको जानकारीअनुसार बेपत्ता हुनेमध्ये २५० भन्दा बढी विदेशी नागरिक छन् ।चिनियाँ अधिकारीहरूले घटनाका बेला नाकामा रहेका वा आफ्नोतर्फ बेपत्ता भएको विश्वास गरिएका मानिसहरूको नामावली अहिलेसम्म सार्वजनिक गरेका छैनन् । विशेषगरी बेपत्ता आफ्ना प्रियजनको खबरका लागि व्यग्र परिवारहरूले यसले पारदर्शितामाथि प्रश्न उठायन थालेका छन् । बेइजिङले भने आफ्नो दुर्गम विपद् क्षेत्रबाट सूचना प्रवाह खुला र समयमै भइरहेको भन्दै त्यसको बचाउ गरेको छ । आइतबार नाकामामा भइरहेको उद्धार कार्य देखाउनका लागि चीनले सीएनएनसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका करिब एक दर्जन पत्रकारलाई सावधानीपूर्वक तय गरिएको भ्रमणमा बोलाएको थियो ।यो भ्रमण चीनको विदे
श मन्त्रालय र स्टेट काउन्सिल इन्फर्मेसन अफिसले संयुक्त रूपमा आयोजना गरेका हुन् । सीएनएनले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि अधिकारीहरूले तय गरेको भ्रमण कार्यक्रममा सहभागिता जनाए पनि आफ्नो सम्पादकीय नियन्त्रण पूर्ण रूपमा कायम राखेको जनाएको छ । दुवै देशका अधिकारीहरूका अनुसार उक्त विपद्पछि एक हजारभन्दा बढी मानिसको मृत्यु पुष्टि भइसकेको छ भने हजारौँ अझै बेपत्ता छन् । यहाँसम्मको भ्रमणले यो क्षेत्र कति दुर्गम छ भन्ने कुरा र उद्धारकर्मीहरूका लागि घटनास्थलमा पुगेर प्रतिक्रिया जनाउनु कति कठिन थियो भन्ने कुरा स्पष्ट पारेको छ ।तिब्बतको यो भागसम्म पुग्नु आफैंमा कठिन काम हो । सीएनएनको टोलीले शनिबार तिब्बतको क्षेत्रीय राजधानी ल्हासाबाट नेपाल सीमासँग नजिक रहेको सहर डिङ्ग्रीसम्म करिब आठ घण्टा गाडीमा यात्रा गरेको थियो । त्यस क्रममा १३ हजार फिटसम्मको उचाइ पार गरिएको थियो, जुन करिब ४ किलोमिटर हो । नाकासम्म पुग्न डिङ्ग्रीबाट थप ६ घण्टा लाग्यो । नाकाबाट डिङ्ग्री नै सबैभन्दा नजिकको विमानस्थल रहेको स्थान हो ।
नाकातर्फ जाने साँघुरो दुई लेनको सडक सल्लाका रूखले ढाकिएका पहाड हुँदै अनगिन्ती घुम्ती पार गरेर अघि बढ्छ । विपद् भएको सात दिनपछि मात्र बुधबार यी सडकहरू सफा गरिएका थिए । त्यसपछि मात्रै हजारौँ उद्धारकर्मी र भारी मेसिनरीसहित प्रभावित क्षेत्रमा प्रवेश गर्न सम्भव भएको थियो । त्यसअघि सीमित संख्याका उद्धारकर्मीहरू पैदल हिँडेर वा डुंगा तथा विमानमार्फत त्यहाँ पुगेका थिए ।विगत ११ दिनको उद्धार प्रयास पनि पहिरो लगायत थप विपद्को जोखिमका कारण कतिपय समयमा सुस्त वा रोकिएको थियो । भग्नावशेष र हिलोले नजिकैको नदीका केही भाग थुनेपछि बनेका नयाँ, तथाकथित अवरोध तालहरू फुट्न सक्ने जोखिम पनि थियो । यी अवस्थाका साथै भारी वर्षा र पहाडी भूभागका कारण कहिलेकाहीँ हवाई मार्गबाट समेत घटनास्थलमा पुग्न कठिन भएको थियो । ‘यस चरणमा हामी मुख्य रूपमा गहन खोजी तथा उद्धार कार्यमा केन्द्रित छौँ,’ बुधबार पहुँच खुलेदेखि घटनास्थलमा काम गरिरहेका झाङले भने ।
‘हाम्रो तरिका भनेको एउटा तह खन्ने, त्यही तहमा खोजी गर्ने र त्यसलाई सफा गरेपछि मात्र अर्को तहमा अघि बढ्ने हो । हामीले धेरै सावधानीपूर्वक खनिरहेका छौँ, पूर्ण रूपमा खोजी गरिरहेका छौँ र भग्नावशेषलाई तह–तहमा हटाइरहेका छौँ, ताकि मृतकहरू फेला पार्न सकिन्छ कि भनेर खोजी गर्न सकियोस्,’ । उनले भने । अधिकारीहरूले नेपालतर्फको लाङटाङ लिरुङ हिमालको हिमनदी आसपास थप भत्किने सम्भावनाबारे पनि चेतावनी दिएका छन् । यही हिमनदी चर्किएर भत्किँदा अगस्ट २६ को पहिरो र बाढी सुरु भएको थियो ।त महिनाको यो प्रकोपपछि यस्ता जोखिमको थप निगरानी गर्नुपर्ने देखिएको छ । साथै, जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै र यस्ता घटना अझ अप्रत्याशित बन्दै गएकाले चीन र नेपालबीच सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ । तर अहिले उद्धार र खोजी कार्यमै ध्यान केन्द्रित छ । बेपत्ता व्यक्तिका परिवारहरू आफ्ना प्रियजनको अवस्था र उनीहरूसँग के भयो भन्ने जानकारीको प्रतीक्षामा छन् । तीमध्ये कतिपय त्यो भयानक बिहान केरुङ नाकामा रहेको विश्वास गरिएको छ ।




.gif)





