काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ११ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । बाढी आएको आज १२ औँ दिन बितिसक्दा पनि ९३३ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले दिएको विवरण अनुसार बाढीबाट ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) गरी कुल १२ वटा आयोजनामध्ये ११ वटामा प्रत्यक्ष क्षति पुगेको छ ।बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी कामदारहरू बेपत्ता भएका छन् भने केहीको उद्धार गरिएको छ ।निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत १ हजार ४३३ जनशक्तिमध्ये ५४८ जना अझै सम्पर्कविहीन छन् । हराइरहेकाहरूमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेका छन् ।
हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ । उक्त आयोजनाबाट शनिवार बाढी आएको ११ औं दिनको दिन एक चिनियाँ नागरिकको उद्धार गरिएको छ । त्यस्तै, डिसेण्डर बेसिनको डाउन साइटमा दुईवटा शव फेला परेको छ । अहिले उद्धारका लागि कोरियन टोली, शेर्पा, ड्रोन टोली र तालिमप्राप्त कुकुरहरू समेत परिचालन गरिएको छ ।रसुवागढी (१११ मेगावाट) आयोजनाको विद्युतगृह बाढीले ल्याएको लेदो र मलबारले पूर्ण रूपमा भरिएको छ । विद्युतगृहभित्र ४ देखि १४ जनासम्म फसेको हुनसक्ने अनुमान गरिए पनि हालसम्म कसैलाई फेला पार्न सकिएको छैन ।शनिबार नेपाली सेना र भूगर्भविद् सहितको टोली हेलिकप्टरमार्फत पुगेर निरीक्षण गर्दा विद्युतगृहको कन्ट्रोल रुम लेदोले पुरिएको र पानीको सतह इओटी क्रेन भन्दा माथि पुगेको पाइएको छ ।त्यस्तै, चिलिमे जलविद्युत केन्द्रको विद्युतगृहमा फसेकाहरूको उद्धारका लागि २१ जना नेपाली र भारतीय सेनाको टोलीले म्यानुअल रूपमा लेदो हटाउने काम गरिरहेका छन् ।
विद्युतगृह पुग्ने २५० मिटर लामो पहुँच सुरुङमध्ये हालसम्म करिब १०० मिटर मात्र सफा गर्न सकिएको छ । मेसिन पुर्याउन नसकिएका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ । यहाँ ६ जना बेपत्ता छन् । साइट कार्यालयका ७१ जना सुरक्षित स्थानमा जान सफल भएका छन् ।३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली ३ बी आयोजनाका १९१ जना कामदार अझै बेपत्ता छन् । २३ जनाको सकुशल उद्धार गरिएको छ । ३ वटा साना एक्साभेटरले ४ मिटर गहिराइसम्म खन्दा पनि अझै कुनै ठोस संकेत फेला पर्न सकेको छैन ।२० मेगावाटको परीक्षण सञ्चालन गर्ने तयारीमा रहेको लाङटाङ खोला आयोजनाका अझै ३९ जना सम्पर्कविहीन छन् भने ११ जनाको उद्धार गरिएको छ ।६० मेगावाटको सञ्चालनमा रहेको माथिल्लो त्रिशूली ३ ए आयोजनामा ३९ जना बेपत्ता छन् र खोजी कार्य जारी रहेको छ ।२४ मेगावाटको सञ्चालनमा रहेको त्रिशूली जलविद्युत केन्द्रमा २ जना सुरक्षागार्ड र १ जना कर्मचारी गरी ३ जना बेपत्ता छन् । ७० जनाको सकुशल उद्धार गरिएको छ ।
अन्य रसुवा–भोटेकोशी १२० मेगावाटमा ४ जना बेपत्ता, ५ जनाको उद्धार भएको छ । मैलुङ खोला ५ मेगावाटमा ७ जना बेपत्ता, अन्यको अवस्था अज्ञात छ । मिडल त्रिशूली गंगा १५.६ मेगावाटमा २ जना बेपत्ता, १ जनाको उद्धार भएको छ ।बाढी आएको १२ औँ दिन पनि मौसमको प्रतिकूलता र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा चुनौती थपिएको छ । ठूला मेसिन र एक्साभेटरहरू दुर्घटनास्थलसम्म पुर्याउन नसकिएकाले साना हेलिकप्टरमार्फत सामग्री ढुवानी गरी सुरुङ र हेडवक्स क्षेत्रमा बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ । बाढीले ल्याएको लेदो, ढुङ्गा र काठका टुक्राहरूका कारण उद्धार कार्य निकै जटिल बनेको छ ।




.gif)





