काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक परेको छ । गोरखाको बुङकोटमा जन्मिएका ५५ वर्षीय वाग्ले बिरामी भएर हेम्स अस्पतालमा धुम्बाराहीमा उपचार गराइरहेका थिए। अस्पतालमा नै आइतबार साँझ ६ः५८ मा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको सोमबार विहान पशुपति आर्यघाटमा दाह संस्कार गरिने भएको छ।
तीन दशक देखि पर्यटन व्यवसायमा आवद्ध वाग्लेले एक दर्जन भन्दा बढी कम्पनी चलाउँदै आएका थिए। उनका अप्सरा बुटिक होटल, ब्लु होराइजन लगायत आधा दर्जन होटल नै रहेका छन्।
सन् १९९२ मा नेपाल भिजन ट्रेक्स कम्पनीबाट पर्यटन व्यवसाय सुरु गरेका वाग्लेको ट्राभल्स एक्सिडिसन होटल समेत सञ्चालनमा छन्। भिजन सँगै वाग्लेका एक दर्जन ट्रेकिङ कम्पनी सञ्चालनमा रहेका छन्।
खासगरी ठमेल क्षेत्रमा उनको ट्रेकिङ ट्राभल देखि होटल समेत सञ्चालनमा रहेका छन्। होटल संघ नेपाल हानका पूर्व सदस्य समेत रहेका वाग्लेले गोरखा र धादिङका सयौँ स्थानीयलाई रोजगारी दिँदै आएका थिए। रोजगारी सँगै व्यवसाय समेत संचालनमा सहयोग गर्ने वाग्ले सँगै काम गर्ने सयौँ गाइड र सहयोगीहरुले अहिले आफ्नै कम्पनी सञ्चालन गर्दै आएका छन्।
नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित थिए ।




.gif)





