काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा आपत्कालीन प्रतिकार्यलाई सघाउन विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको छ ।सङ्गठनले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष मार्फत यो रकम विनियोजन गरेको हो। हालसम्मको विवरण अनुसार बाढीमा परि ७३० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब २५०० जना बेपत्ता, २०० भन्दा बढी घाइते र ७४ जना उपचाररत छन् ।
बागमती र गण्डकी प्रदेशका ६ जिल्लाका करिब १० हजार घरपरिवारलाई तत्काल राहतको आवश्यकता परेको छ। बाढी आएकै दिन भाद्र १० गते विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा १० हजार जनालाई तीन महिनासम्म पुग्ने आपत्कालीन स्वास्थ्य सामग्री, टेन्ट, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री पठाएको थियो। बाढीका कारण स्वास्थ्य संस्था र सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । जसअन्तर्गत रसुवाका चार वटा स्वास्थ्य संस्था पूर्ण रूपमा र धादिङका दुई वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। धादिङ र त्रिशूली अस्पताल जाने सडक अवरुद्ध हुनुका साथै सडक सञ्जाल बिग्रिएकाले दुर्गम तथा विस्थापित क्षेत्रसम्म स्वास्थ्य सेवा र राहत सामग्री पुर्याउन ठुलो चुनौती खडा भएको छ।
डब्लुएचओले नेपाल सरकार र अन्य साझेदार संस्थाहरूसँग मिलेर स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन र रोगको निगरानी सुदृढ गर्न सहकार्य गरिरहेको छ। बाढी पछिको अवस्थामा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोगका साथै आफन्त र घरबार गुमाएका प्रभावितहरूको मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम रहन्छ।यसैबिच, डब्लुएचओ दक्षिण पूर्वी एसियाका कार्यवाहक प्रमुख डा.निलेश बुद्धले आपत्कालीन प्रतिकार्य र पुनःस्थापनाका प्रयासहरूमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




.gif)





