काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको हो।
बाढीबाट टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा भएको क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
बैंकका अनुसार विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने भएकाले उक्त रकम सहयोग गरिएको हो।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल राहत तथा उद्धारका लागि आवश्यक स्रोत जुटाउन आफ्नो सहयोगले योगदान पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ।
बैंकले विपद्को समयमा प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न सरकारी तथा सम्बन्धित निकायसँग सहकार्यलाई प्राथमिकता दिने जनाएको छ। साथै, आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सामाजिक संघसंस्था र सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी छ। यस क्रममा मुक्तिनाथ विकास बैंकको ५० लाख रुपैयाँ सहयोगले सरकारी राहत तथा पुनर्स्थापना प्रयासमा थप स्रोत परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





