स्याङ्जा, भदौ ८ गते । यहाँको अर्जुन चौपारी गाउँपालिका –१ बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । भैसीपालक किसानलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश कृषि, भूमि ब्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको ९० प्रतिशत आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालनी गरिएको हो । यहाँ प्रशिक्षण केन्द्र पोखराले चार लाख ७२ हजार पाँचसय लगानी गरेको हो भने सहकारीले ५२ हजार पाँचसय साझेदारी गरेको हो । चिस्यान केन्द्रमा पाँचसय लिटरको मिल्क चिलिङ्ग जडान गरिएको छ भने मिल्क एनलाइजर साथै प्रिन्ट, मिल्क क्यान र सेन्ट्री फ्युट मेशिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ ।
चिस्यान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले चिस्यान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादनमा अनुदान दिने बताउनुभयो । उहाँले सहकारीमार्फत उन्नत जातका भैसी खरिदमा लिएको ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिने बताउनुभयो । पालिकामै राज्यको सहयोग मिल्क चिस्यान केन्द्रको भवन बने पनि प्रयोगमा ल्याउन नसकेको बताउँदै तिवारीले काम थालनी गर्न सजिलो भए पनि निस्कर्षमा निकाल्न सहज नभएको बताउनुभयो । दुग्ध चिस्यान केन्द्रलाई अब डेरीको रुपमा बिस्तार गर्नुपर्ने बताउँदै तिवारीले कृषकका हरेक समस्यामा पालिकाले साझेदारी गर्ने बताउनुभयो । कार्यक्रममा वडा –१ का अध्यक्ष रणबहादुर थापा, वडा –२ का अध्यक्ष धनबहादुर गुरुङ, वडा –३ का अध्यक्ष शोभाकान्त काफ्ले, पालिका कृषि प्रमुख डोलराज गैरे, सहकारी ऋण उपसमिति संयोजक तारापति पौडेल, सदस्य नारायण काफ्ले, लगायतले मन्तब्य राख्नुभएको थियो ।
सहकारीले कृषकलाई सात प्रतिशत ऋण दिएसँगै कृषक भैसीपालनमा लागेको र चिस्यान केन्द्र सञ्चालनले सार्थकता पाएको सहकारीका अध्यक्ष खडानन्द पौडेलले बताउनुभयो । चिस्यान केन्द्रको सञ्चालनको पहिलो दिन कृषकले ४८.५ लिटर संकलन गरको अध्यक्ष पौडेलले बताउनुभयो ।




.gif)





