images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालय ठप्प...

कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालय ठप्प पार्ने आंशिक करार शिक्षकहरूको चेतावनी

कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालय ठप्प पार्ने आंशिक करार शिक्षकहरूको चेतावनी

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

    images
    images

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले कात्तिक ३० गते उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्दैछ । सेवा आयोगले २०७७ सालमा आह्वान गरेका उपप्राध्यापक पदको विज्ञापन अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो । त्यो बेला ५८१ जना उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको थियो । आंशिक शिक्षकहरूले उक्त परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

    आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बूले विगत १९ वर्षदेखि आफूहरू आंशिक शिक्षकको रूपमा विश्वविद्यालयमा पठनपाठन गराउँदै आएको बताए । आंशिकसँग गरिएको सहमति अनुसार साउन २३ गते बसेको कार्यकारी परिषद् बैठकले रिक्त दरबन्दीमा करार सेवाको शिक्षक सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय स्थलगत अध्ययन कार्यटोली गठन गर्ने निर्णय गरिएको थियो ।सोही कार्यदलको प्रतिवेदनका आधारमा शिक्षक सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो । तर, अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको भन्दै संघर्ष समितिका अध्यक्ष लिम्बूले कात्तिक ३० गतेदेखि सञ्चालन हुने परीक्षा रोक्ने चेतावनी दिएका हुन् ।

    images
    images

    22714133-b738-450a-8523-85f8354c0475

    ‘हामीले ३० गते पर्खिरहेका छौँ । कि त्यो दिनदेखि विश्वविद्यालय ठप्प हुन्छ, कि परीक्षा हुँदैन । त्यसका लागि देशभरबाट साथीहरूलाई बोलाउँदैछौँ,’ उनले भने, ‘यस पटक विश्वविद्यालयसँग अन्तिम लडाइँ लड्छौँ । विश्वविद्यालय ठप्प हुन्छ, अनिमात्रै शोषित पीडित शिक्षकले राहत पाउने अवस्था आउँछ ।’यो पटक पनि आफूहरूलाई करार नगरेमा श्रम अदालत जाने चेतावनीसमेत लिम्बूले दिए । विश्वविद्यालय जस्तो ठाउँमा आफूहरूको श्रम शोषण तथा बौद्धिक शोषण भइरहेको उनको भनाइ छ ।

    ‘विश्वविद्यालयमा १९/२० वर्षसम्म काम गरिसक्यौँ । अहिलेसम्म आंशिकमै राखेको छ । आवश्यक परेको खण्डमा ६ महिनादेखि २ वर्षसम्म करार राख्न पाउने व्यवस्था विश्वविद्यालयको रातो किताबमा छ,’ उनले भने, ‘हामीलाई १९/२० वर्षदेखि काम लगाइसकेको छ तर, हामीसँग करार गरेको छैन । मासिक ज्याला दिँदैन ।’विश्वविद्यालयमा ८ हजारको हाराहारीमा शिक्षकको दरबन्दी छ । जसमा हाल ३ हजार ८२० मात्रै स्थायी शिक्षक छन् । तीमध्ये केही क्याम्पस प्रमुख लगायत प्रशासनिक काममा छन् । केही अध्ययन बिदा लिएर बाहिर पढ्न गएका छन् । बाँकी रहेका शिक्षकले विश्वविद्यालयमा पढाउँदै आएका छन् ।

    उनीहरूले पढाउन नसकेका कक्षाहरू आंशिक तथा करार शिक्षकहरूले नै धानिरहेको लिम्बूको भनाइ छ । ‘हामीले केमात्रै भनेका हौँ भने कम्तीमा मासिक ज्याला त देऊ । हामीले पनि दुई पिरियड पढाउँछौँ । उपप्राध्यापक, प्राध्यापकहरूले समेत त्यही २ पिरियड पढाउने हो । तर, उपप्राध्यापकले ४८ हजार तलब खान्छन् । प्रोफेसरले झण्डै ७० हजार तलब खान्छन् । हामीले खाने भनेको प्रतिपिरियड ५०० रुपैयाँ हो । त्यसमा कर कटाउँदा ४५० रुपैयाँ आउँछ,’ उनले भने । विश्वविद्यालयलाई आंशिक नचाहिने हो भने अबदेखि विश्वविद्यालयमा आंशिक चाहिँदैन भनेर निर्णय गरेर पठाइदिनसमेत लिम्बूले आग्रह गरे । ‘त्यो पनि गर्न नसक्ने, हामीलाई मासिक ज्याला दिन पनि नसक्ने ! यो त भएन,’ उनले भने ।

    दुई हजार २०० को हाराहारीमा रहेका आंशिक शिक्षकहरू अब अन्तिम लडाइँ लड्ने तयारीमा रहेको लिम्बूले प्रस्ट पारे । ‘२,२०० को हाराहारीमा रहेका जनशक्तिलाई श्रम शोषण गरिरहेको छ । बौद्धिक शोषण गरिरहेको छ । हामीले अन्याय परेको खण्डमा आवाज उठाउनुपर्छ भनिरहेका हुन्छौँ,’ उनले भने, ‘विश्वविद्यालयभित्र रहेका हामी नै शोषणमा परेका छौँ । नैतिकताको शिक्षा सिकाउने हामी आफैँ समस्यामा छौँ ।’आफूहरूले सेवा आयोगले रिक्त दरबन्दीमा एकै पटक विज्ञापन आह्वान गर्नुपर्ने मागसमेत गरेको लिम्बूको भनाइ छ । ‘सेवा आयोग पास गरेर गए भइगयो भन्ने प्रश्न हामीमाथि आउँछ । पहिला सेवा आयोगले विज्ञापन खोल्नुपर्‍यो नि । त्यसमा आफ्ना मान्छे राख्नका लागि २/४ सयको सङ्ख्यामा खोल्छन् । अनि आफ्ना मान्छे राखेपछि सकियो,’ उनले भने, ‘त्यसमा हामी पर्दैनौँ । हाम्रा कोही नभएपछि हामी त्यसमा पर्दैनौँ । आफ्ना मान्छे भर्नका लागि कम सङ्ख्यामा खोल्ने गरिएको छ । हामीले त खाली सबै दरबन्दी खोल्नुहोस् भनेका हौँ ।’

    विश्वविद्यालयमा ४ हजारभन्दा बढी दरबन्दी खाली रहेको भन्दै लिम्बूले त्यो सबैमा एकै पटक भर्ना आह्वान गर्नुपर्ने उनले बताए ।आंशिक करार शिक्षकहरूले केही दिन अगाडि त्रिवि सेवा आयोग अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई भेटेर परीक्षा स्थगित गरेर आफूहरूलाई करार बनाउने प्रक्रिया सुरु गर्न माग गरेका थिए ।त्रिविका रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले विश्वविद्यालय खुला प्रतिस्पर्धामार्फत शिक्षक भर्ना प्रक्रिया अगाडि बढाउने पक्षमा रहेको बताए । अहिले सबैको माग समेत त्यही रहेको बताउँदै उनले त्यसका लागि सेवा आयोगले परीक्षा सञ्चालन गर्न लागेको प्रस्ट पारे ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend