काठमाडौँ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने फिल्म हो ‘ए मेरो हजुर ५’ । फिल्मको निर्देशन झरना थापाले गर्न लागेकी हुन् । फिल्मको छायाङ्कन २९ साउनबाट बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु हुने निर्देशक थापाले बताइन् ।‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट नयाँ फिल्म सुरु गर्न पाउँदा खुसीको मिमै छैन’ उनले भनिन् ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।’ फिल्मले मनोरन्जको अलवा प्रयर्टन प्रवर्धन समेत गर्ने उनको भनाई छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा अनमोल र सुहानाको अलवा को को कलाकार रहने भनेर अहिले गोप्य राखिएको छ । फिल्म मार्फत सुहाना र अनमोल तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।‘ए मेरो हजुर’ शृङ्खलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट भएको थियो । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन गर्दै आएकी छन् ।




.gif)



