काठमाडौं । दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको छ।कल्किजम रिसर्च सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीको उपस्थितिमा ‘कल्कि वुमन’अन्तर्गत उक्त अभियानको शुभारम्भ गरेको हो। कार्यक्रममा ‘कल्कि कानुन’ र ‘कल्कि करेन्सी’ अभियानमार्फत सामाजिक सुधारका विभिन्न प्रस्ताव पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा बोल्दै नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरू अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै महिलाको सशक्तीकरणका लागि अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्। उनले विदेशमा अध्ययन र काम गरेर स्वदेश फर्किएका कल्किजम रिसर्च सेन्टरका संस्थापकले महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्नु सकारात्मक पहल भएको बताइन्।मिस नेपाल उषा खड्गीले दाइजो, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध व्यापक जनचेतना फैलाउन तथा कानुनी सुधारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन्।
कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा. उमाशंकर प्रसादले पूँजीवाद, साम्यवाद र समाजवादको विकल्पका रूपमा ‘कल्किवाद (कल्किजम)’ अघि सारिएको दाबी गर्दै यसले सामाजिक न्याय र समानताको नयाँ अवधारणा स्थापित गर्ने बताए।संस्थापक ‘मिस्टर ६६६’ले अभियानको मुख्य उद्देश्य नेपाललाई दाइजो कुप्रथामुक्त राष्ट्र बनाउनु रहेको बताए। उनले तीन वर्षभित्र दाइजो प्रथाको अन्त्य, महिलाको सुरक्षा र अधिकारलाई कानुनी रूप थप सुदृढ बनाउने तथा सामाजिक न्यायका विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिए।उनले विवाहमा केटा र केटी पक्षले समान खर्च गर्ने कानुनी व्यवस्था, बारकोडयुक्त ‘कल्कि करेन्सी’ लागू गरी नेपाललाई पूर्ण रूपमा नगदरहित (क्यासलेस) अर्थतन्त्रतर्फ लैजाने तथा प्रत्येक परिवारका लागि छुट्टै डिजिटल करेन्सी प्रणाली विकास गर्ने प्रस्ताव पनि अघि सारे।
यस्तै, महिलामाथि हुने हिंसाका घटनामा दोषीबाट आर्थिक जरिवाना असुल गरी महिला सुरक्षा प्रविधि र महिला प्रहरी परिचालनमा खर्च गर्नुपर्ने तथा बुहारीको हत्या वा शंकास्पद आत्महत्याका घटनामा विवाहमा भएको सम्पूर्ण खर्च २५ प्रतिशत ब्याजसहित केटी पक्षलाई फिर्ता गराउनुपर्ने र सम्बन्धित परिवारका पुरुषलाई पुनः विवाह गर्न रोक लगाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव थियो।कल्किजम रिसर्च सेन्टरकी उपाध्यक्ष डा. पञ्चकुमारी मानन्धरले महिलामाथि हुने हिंसा न्यूनीकरण तथा समानता र न्यायमा आधारित सामाजिक सुधारका लागि महिला मैत्री कानुन आवश्यक रहेको बताइन्।संस्थाकी सदस्य भूपी ऐरले आमाबुवाको मृत्युपछि मात्र सन्तानले सम्पत्तिमा हिस्सा पाउने व्यवस्था गर्नुपर्ने तथा आमाबुवालाई पनि सन्तानको सम्पत्तिमा अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखिन्। उनले महिला हिंसा अन्त्यका लागि सबै महिला सचेत र संगठित हुनुपर्नेमा जोड दिइन्।जेनजी अभियन्ता जश्मिन ओजाले ‘महिला शक्ति जागरण अभियान’ले महिला सशक्तीकरण र मुक्तिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन्।कार्यक्रममा ‘कल्कि वुमन’का केन्द्रीय सदस्य तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो।




.gif)





